काठमाडौँ, २८ असोज । सोमबारदेखि मुलुकभर भइरहेको वर्षा बुधबारदेखि क्रमिक सुधार आउने मौसम विभागले जनाएको छ ।
पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई मंगलबार पनि देशभर पानी परे तापनि बुधबारदेखि क्रमिक सुधार हुँदै बिहीबारदेखि मौसममा पूर्णरुपमा सुधार आउने विभागले जनाएको छ ।
मंगलबार मध्य र पश्चिमी भेग काठमाडौँ उपत्यका वरपर, पोखरा, दाङ र सुर्खेतलगायत जिल्लामा सबैभन्दा बढी पानी परेको र अन्य जिल्लामा अलिक कम परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
दिनभर भएको वर्षात्का कारण मुगु, हुम्ला र मुस्ताङलगायत हिमाली जिल्लामा हिमपात भएको छ । सामुद्रिक आँधी आइतबार मध्याह्नदेखि भारतको आन्ध्र प्रदेश हुँदै पश्चिम उत्तरतर्फ बढिरहेकाले आँधी सोमबार नेपाल आइपुगेपछि त्यसको प्रभावस्वरूप मुलुकभर वर्षा भएको हो ।
धान नकाट्न आग्रह
उहाँका अनुसार सामुद्रिक आँधी भारतको छत्तीसगढको बाटो हुँदै पश्चिम उत्तर प्रदेशसम्म आइपुग्दैछ, त्यो उत्तरप्रदेश आइपुग्दा नेपालको नजिक पर्ने भएकाले आज मध्य र पश्चिमी भेगमा भारी वर्षा हुनाको साथै देशभर मौसम बदलिएको छ । हुदहुदको प्रभाव देखिएको हुँदा सो अवधिभरि धान नकाट्न कृषि विज्ञले सुझावसमेत दिएका छन् ।
सोमबारदेखिको पानीले तापक्रम ह्वात्तै घटेकाले बिहीबारदेखि उपत्यकासहित देशभर चिसो सुरु भई जाडो बढ्ने विभागको भनाइ छ । काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेकामा आज २ प्रतिशत घटेर अधिकतम तापक्रम १६ पुगेको विभागले जनाएको छ । रासस
पानीसँगै हिमपात
यता, डोल्पमा सोमबार रातिदेखि लगातार पानी परेपछि उच्च भेगमा पर्ने फोक्सुन्डो, छार्का, तिन्जे, मुकोट, धोलगायत गाविसका रिग्मो, कलाङ, पुग्मो, लुलाङलगायत गाउँमा तथा तल्लो डोल्पाका त्रिपुराकोट, माझफाल, पहाडा, रहलगायत गाविसका लेकमा हिमपात भएको छ ।
हिमपातले जनजीवन एकदमै कष्टकर बनेको तथा खानपान तथा गाईवस्तुलाई चराउनसमेत अप्ठेरो भएको स्थानीयवासीले बताएका छन् ।
तल्लो डोल्पाका त्रिपुराकोट, लिकु, रङ्ग, फुलचिङ, रल्लीलगायत गाउँमा भने सोमबारदेखि अविरल रुपमा पानी परिरहेकोे छ । लगातार परेको पानीले सबैजसो गाविसमा काटिएका धान, मकै, फापर, कोदो, सिमी, घाँस सबै भिजाएको छ ।
घर भित्र्याउने बेलाका अन्नबाली भिजाएकाले किसान चिन्तित बनेका छन् भने कतिपय किसान पानीमा भिजेरै भए पनि अन्नबाली ढाकछोप तिर जुटेका छन् ।
यसरी भिजेका अन्नबाली कुहिने हुनाले पछि गएर प्रयोगयोग्य नहुनाका साथै भिजेको घाँसपात पनि कुहिएर कालो हुने र वस्तुबाहुले नखाने स्थानीयवासी पार्वती न्यौपानेले बताउनुभयो ।
पानीले गर्दा माटे घरहरुसमेत चुहिएका छन् भने गौरी शंकर उपाध्याएको गोठको भित्ता समेत भत्किएको छ ।
यसरी पानी पर्दा खेतमा काटेका दश क्विन्टल धान र पाँचसय चालिस मुठा घाँस भिजेको त्रिपुराकोटका स्थानीयवासी रबीप्रसाद न्यौपानेले बताउनुभयो ।
बादलले आकास पुरै ढाकेकाले अबको दुई दिनसम्म लगातार पानी पर्नसक्ने उहाँले बताउनुभयो ।
चिन्तैचिन्तामा किसान
दिनभर परेको मुसलधारे वर्षाले धान उत्पादन गर्ने किसानलाई प्रत्यक्ष असर पु¥याएको छ । खेतमा काटेको धान वर्षाले भिजेपछि अहिले धानको गुणस्तर घट्ने र बीउकै अभाव हुने भएको छ । रौतहटको उत्तरी भेगका कृषकले मुसलधारे पानीका कारण काटेको धान खेतमै भिजेर उम्रन लागेको गुनासो गरेका छन् ।
चन्द्रनिगाहपुर गाविसका निवर्तमान अध्यक्ष उद्धव रेग्मीले अकस्मात् परेको पानीले आफ्नो ११ कठ्ठाको काटेको धान भिजेर नष्ट हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँका अनुसार यसैगरी वर्षा जारी रहने हो भने काटेको धान भिजेर आगामी वर्षका लागि धानको बीउ पनि बचाउन गाह्रो हुने छ ।
चन्द्रपुर नगरपालिकाको कप्तानटोललगायत आसपास क्षेत्रका कृषकले काटेको धान केही दिनदेखिको पानीले लगातार भिजिरहेको छ । जिल्ला कृषि विकास कार्यालयले यस मौसममा परेको पानीले पाकेको तथा पाक्न लागेको दुवै धानलाई नराम्रोसँग असर पु¥याएको जनाएको छ ।
अधिकांश भागमा अगौटे धान लगाउने किसान वर्षाका कारण पछुताइरहेका छन् । स¥यान धान लगाउने कृषक पनि धेरै हिलो भएर तरकारी तथा मुसुरो बाली छर्न नपाइने हो कि भन्ने चिन्तामा छन् ।
उत्तरी गोरखामा हिमपात, पर्यटक फर्कन थाले
यता, उत्तरी गोरखामा सोमबार रातिदेखि निरन्तर हिउँ परेपछि मनास्लु पर्यटन पदमार्ग भएर सामागाउँतर्फ गएका पर्यटकबीच बाटोबाट फर्केका छन् ।
गोरखा सदरमुकाम र आरुघाट बजार हुँदै सामागाउँ हिँडेका पर्यटक हिउँ परेपछि मंगलबार बिहानदेखि फर्कन थालेको ल्हो गाविसका विजय गुरुङले जानकारी दिनुभयो ।
दर्जनौं सङ्ख्यामा पुगेका आन्तरिक तथा विदेशी पर्यटक मौसम प्रतिकूल भएपछि सदरमुकामतर्फ फर्केको गुरुङको भनाइ छ । लगातार हिउँ परेपछि उत्तरी गोरखामा चिसो बढेको छ । “हिउँ परेको प¥यै छ, घुम्न आएका पर्यटक फर्कन थाले,” गुरुङले भन्नुभयो ।
सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, उहियाँ, गुम्दाको माछाखोलादेखि पर्यटक फर्कन थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । “मनास्लु हिमाल आरोहण गर्न, लार्के भन्ज्याङ हेर्न आएको पर्यटकको समूह सदरमुकाम फर्किएको छ,” सामागाउँका स्थानीयबासिन्दा कर्मा छेवाङ लामाले भन्नुभयो, “कतिपय पर्यटक पदयात्रा स्थगित गरेर होटलमा बसेका छन् ।”
मनास्लु हिमाल आरोहण गर्ने र लार्के नाघेर मनाङ हुँदै पोखरा जाने पर्यटकको विभिन्न समूह मनास्लु पदमार्ग हुँदै सामागाउँतर्फ हिँडेका थिए ।
लगातारको हिमपातका कारण आलु खन्ने काम पनि रोकिएको छेवाङको भनाइ छ । उहाँका अनुसार चिसो बढेपछि उत्तरी गोरखाका स्थानीय बासिन्दा घरभित्र आगो तापेर बसेका छन् ।
















प्रतिक्रिया