
काठमाडौँ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठन गरेको छानबिन समितिको प्रतिवेदन नमान्ने बताएका छन् । बरु, छानबिन टोलीको सट्टा प्रमुख आयुक्त आफै गएको भए उचित हुने ओलीको सुझाव थियो ।
छानबिन टोलीको प्रतिवेदन नै नआउँदै आखिर ओलीले किन विश्वसनीयतामाथि प्रश्न उठाए त ? एमाले स्रोतका अनुसार, छानबिन समिति गठन गर्नमा पनि चलखेल भएको आशंका छ ।
मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न निर्वाचन आयोगले गठन गरेको छानबिन समितिको संयोजक स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा काम गर्ने नेताका भाइ हुन् । छानबिन आयोगका संयोजक गिताप्रसाद तिम्सिना प्रधानमन्त्री दाहालका सचिवालयमा समेत रहेर काम गरेका माओवादी नेता मातृका तिम्सिनाका सहोदर भाइ हुन् ।
त्यतिमात्र होइन्, संयोजक तिम्सिना सर्वोच्च अदालतको निर्णयबाट अयोग्य घोषणा भइ बर्खास्तमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीका समेत ‘भित्रिया’ हुन । प्रधानमन्त्री दाहालको चलखेल अनुसार आयोगले सरकारी कर्मचारी तिम्सिनालाई छानविनको जिम्मेवारी दिएको स्रोतको भनाइ छ । तिम्सिना सहमहान्यायाधिवक्ता हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको सल्लाहकार हुने गर्छन् । ‘अब प्रधानमन्त्रीको सल्लाहकारकै टिममा रहेका सरकारी कर्मचारीलाई एमालेले कसरी विश्वास गर्ने ?’- एमालेका एक नेताले भने ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो । लगत्तै निर्वाचन अधिकृतले मतगणना रोकेर मतपत्र च्यातेको रिपोर्ट केन्द्रमा पठाएका छन् । भरतपुरको मतगणनामा देखिएका बिभिन्न घटनाक्रमहरुलाई देखेर एमाले सशंकित देखिएको छ ।











प्रतिक्रिया