९ मंसिर २०८३, बुधबार

भरतपुरमा निर्वाचन आयोगको छानबिन टोलीले के-के गर्दैछ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयमा गठित छानबिन टोलीले आज बिहानैदेखि चितवनका राजनीतिक दलका प्रमुखसँग छुट्टाछुट्टै भेट गरी घटनाको बारेमा जानकारी लिएको छ ।

आइतबार राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । सोमबार नै भरतपुर आएको टोलीले आज बिहान नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका जिल्ला अध्यक्षसँग छलफल गरिसकेको छ ।

मजदुर किसानपार्टी, नेकपा माले लगायतका साना दलका प्रमुखसँग पालैपालो छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार टोलीले घटनाका सम्बन्धमा प्रत्यक्षदर्शीसँग भएका व्यहोरा बताउन भनेको थियो । साथै सो घटनालाई सहजीकरण गर्ने सम्बन्धमा पनि जानकारी लिएको उनले बताए ।

नेकपा एमालेका जिल्लाअध्यक्ष कृष्णभक्त पोख्रेलले विगतका नजिर बिग्रनेगरी पुनःमतदान गर्नुभन्दा सबै मतपत्र सङ्कलन गरी मतगणना गर्न सुझाव दिएको बताए ।

टोलीका पदाधिकारीसहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दि फेमस महेन्द्रदल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहोवरमा दलका प्रतिनिधिसँग पालैपालो घटनाका विषयमा जानकारी लिन छलफल भइरहेको छ ।

दलका प्रमुखसँगको छलफलपछि टोलीले आजै घटनास्थलको स्थलगत अध्ययन गरी फर्कने कार्यक्रम छ । बुधबार निर्वाचन आयोगलाई टोलीले दिने प्रतिवेदनको आधारमा आयोगले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका – १९ को पुनः मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयमा निर्णय लिने छ ।

आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ ।

दलका प्रतिनिधिले मतगणनास्थलको ढोकामा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् । भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अव वडा नं– २० को मात्र मतगणना बाँकी छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा सात सय ३३ मतले अगाडि छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो ।