दीपक अधिकारी
लमजुङ, २८ असोज । हिमालपारिको जिल्ला मनाङमा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।
मनाङ नार गाउँमा हिमपहिरोमा परी चौरी हेर्न गएका तीन जना स्थानीय बासिन्दा बेपत्ता भएका मनाङका डीएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । सोमबार बिहान करिब ११ बजेतिर करिब ४ हजार मिटर माथिबाट आएको हिमपहिरोले उनीहरु पुरिएका हुन् । तर, मंगलबारमात्रै सदरमुकाममा जानकारी प्राप्त भएको डीएसपी रेग्मीले बताउनुभयो ।
बेपत्ता भएका नार– ३ का ३० वर्षीय घ्याल्चोक लामा र नार–४ का ४७ वर्षीय फूर्पा लामाको मात्र परिचय खुलेको छ।
आठजनाको समूहमा उपल्लो क्षेत्रमा चौरी चराउन गएपनि ५ जना भने फर्केका छन् । उनीहरु फर्केपछि मात्रै घटना बारे जानकारी भएको थियो । वर्षा र हिमपातका कारण बेपत्ताको खोजीमा जान नसकेको प्रहरीले बताएको छ ।
बेपत्ता भएकाको खोजीका लागि हेलिकोप्टर पठाउने तयारी भएपनि खराब मौसमका कारण जान सकेको छैन ।
निरन्तरको बर्षातका कार९ा मनाङको जनजीवन प्रभावित भएको छ। ह्वात्तै चिसो बढेकाले स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। हिमपातका कारण अन्नपूर्ण पदमार्गमा गएका पर्यटक समेत समस्यामा परेको प्रहरीले जनाएको छ। हिउँ परेपछि अन्नपूर्ण पदयात्राका लागि निस्केका पर्यटकहरु बीचबाटोमै अलपत्र परेका छन्।















प्रतिक्रिया