
भरतपुर, १५ जेठ । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले गठन गरेको टोली भरतपुर आइपुगेको छ । टोलीले आइतबार साँझबाटै आफ्नो काम सुरु गरेको छ ।
सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारी सदस्य रहेका छन् ।
भरतपुर पुग्नासाथ टोलीले जिल्ला निर्वाचन कार्यालयमा पुगेर वस्तुस्थितिका बारेमा जानकारी लिएको छ । यसैगरी, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीको टोली, मतगणनामा सहभागी कर्मचारीसँग समेत छलफल गरेको टोलीका संयोजक तिमिल्सिनाले जानकारी दिए ।
आइतबार राति माओवादी कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतपरिणाम अन्तिम चरणमा पुग्नै लाग्दा मतपत्र च्यातेका थिए । तर, माओवादीले भने एमालेका कार्यकर्ताले च्यातेपछि रक्षा गर्ने क्रममा च्यातिएको आरोप लगाएको छ । मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता अझै हिरासतमा छन् ।











प्रतिक्रिया