
भरतपुर, १५ जेठ । माओवादीले मतपत्र च्यातेको विरोधमा नेकपा एमालेले भरतपुरमा बिरोध सभा गरेको छ ।
दिउँसो साँढे १ बजे भरतपुरको चौबिसकोठीमा आयोजित विरोधसभामा बोल्दै नेकपा एमालेका नेताहरुले मतगणना तत्काल सुरु गर्न माग गरे । हार्ने डरले माओवादी र काँग्रेसले मतगणना भाँडेको भन्दै उनीहरुले एमालेको जित सुनिश्चित रहेको बताए ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार केशवलाल श्रेष्ठले मतगणना सम्पन्न नभएसम्म मतगणनास्थल (कभर्डहल) वरपर सभ्य रुपमा निगरानी राख्ने बताए ।
नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनः मतदान कुनै हालतमा मान्य नभएको बताए । तत्काल मतगणना सुरु गर्न अपिल गर्दै उनले एमाले नै बिजयी हुने ठोकुवा गरे ।

एमाले चितवनकी सचिव पार्वती रावलले सिरहा घटना दोहोर्याउने खेल भइरहेको बताए । ‘सुगम जिल्ला चितवनमा त यस्तो भयो, दुर्गम क्षेत्रमा के गरियो होला ?’ – उनले भनिन् ।

विरोध सभामा नेकपा एमालेका कार्यकर्ताहरुको ठूलै सहभागिता थियो ।

तस्वीरहरुः शिशिर सिंखडा















प्रतिक्रिया