काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाललाई गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको सुप्रवल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले स्ट्याटस लेखेर पदक नलिने घोषणा गरेका हुन् । प्रकाशलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय सरकारले गरेकोमा चौतर्फी आलोचना भएको थियो । आलोचना खेप्न नसकेपछि प्रकाशले सो पदक नलिने घोषणा गरेका हुन् ।
‘समतामुलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ’, उनले भनेका छन्, ‘म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु ।’
‘गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु’, प्रकाशले भनेका छन्, ‘पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।’
यसअघि राष्ट्रपति र उपराष्ट्रपतिका छोराछोरीलाई राज्यले पदक प्रदान गरिसकेको छ । उनीहरूले सो पदक लगिसकेका छन् ।











प्रतिक्रिया