
काठमाडौं, १५ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकको मतगणनाका बेला भएको घटना र बालुवाटारमा प्रमुख दलहरूको सहमति अनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको छ ।
आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा भरतपुर महानगरपालिकाको मतगणनामा भएको अप्रिय घटनाका विषयमा छलफल हुनेछ । आयोग उच्च सोतका अनुसार भरतपुरमा भएको सबै विवरण माग गरेर प्रमुख आयुक्त र आयुक्तहरूले अध्ययन गरेर निर्णय गर्ने छन् ।
भरतपुरको सबै विवरण आयोगले माग गरिसकेको छ । आयोगले अन्तिम निर्णय नगर्दासम्म मतगणना हुने छैन ।
त्यसैगरी, आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रमलाई एक हप्ता पछाडि सार्न सकिन्छ कि सकिँदैन भनेर पनि परामर्श गर्ने बुझिएको छ ।
भरतपुर महानगरपालिकाको मत गणनाका बेला माओवादी केन्द्रका प्रतिनिधी द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटाले मतपत्र च्यातेको एमालेको आरोप छ ।
माओवादी केन्द्रले भने एमालेका प्रतिनिधी गंगालाल लामाले प्रहरीलाई हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको दाबी गर्दै आएको छ । यी तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।











प्रतिक्रिया