९ मंसिर २०८३, बुधबार

माओवादीले मतपत्र च्यातेपछि भरतपुरको मतगणना अनिश्चितकाललाई स्थगित, देवी ज्ञवालीले के भने ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १५ जेठ । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् । ‘म शौचालय गएको बेला मतगणनास्थल रणमैदान भयो’, उनले संचारकर्मीहरुसँग भने – ‘मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।’

बर्बर जंगली हमला : देवी

यता, एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादीले मतपत्र च्यातेकोमा कडा शब्दमा निन्दा गरेका छन् । ‘चुनाव हार्ने डरले बर्बर जंगली हमला भयो, यो लोकतन्त्रको उपहास हो ।’, मतगणनास्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने – ‘सत्तारुढ दलको यो घृणित कार्यको जति निन्दा गरे पनि पुग्दैन ।’ उनी च्यानल गेटभित्रबाट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै थिए ।

च्यानल गेटभित्रबाट संचारकर्मीलाई प्रतिक्रिया दिँदै ज्ञवाली । तस्वीरः तीर्थ नेपाल

भरतपुरको मेयरमा एमालेका ज्ञवाली र माओवादीकी रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीका तर्फबाट मतगणनास्थलमा एजेण्ट बसेका दुईजनाले मतपत्र च्यातेका हुन् । मतपत्र च्यातिएपछि एकाएक मतगणना बिथोलिएको हो ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माओवादीका कारण भरतपुरको मतगणना अन्यौलग्रस्त बनेको छ ।