काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच सहमति भएपछि संसदको जारी गतिरोध अन्त्य भएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको वार्ता र सम्वादमा स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतको आदेशसँगै पुरानै कायम रहेको तथा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिने सहमतिसँग संसदको गतिरोध खोल्न एमाले तयार भएको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको संख्या पुरानै कायम भएको तथा महाभियोग फिर्ता गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘आजदेखि संसद खोल्ने सहमति भएको छ । महाभियोग प्रस्ताव फिर्ता गर्ने सहमति भएको छ ।’
एमालेले स्थानीय तहको संख्या पुरानै कायम गर्नुपर्ने एवम् महाभियोग प्रस्ताव फिर्ताको माग गरेर संसद अबरोध गर्दै आएको थियो ।
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको थियो ।















प्रतिक्रिया