काठमाडौं, १३ जेठ । दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरू खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी ओलीले आफूहरू नयाँ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अगाडि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।
‘हामी अहिले नयाँ सरकार गठनको दौडधुपमा छैनौँ । सहमतिको सरकार होस्, सहमतिका साथ अगाडि जाऔँ, मेलमिलापका साथ मिलेर जाऔँ, संक्रमणकाल टुंग्याउने दिशामा जाऔँ, संविधानसम्मत ढंगले अगाडि बढौँ भन्नेमा छौँ’, शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिले सहमतिको सरकार गठनकै लागि समय दिनुभएको हो । एमाले सहमतिको सरकारका लागि खुला छ ।’












प्रतिक्रिया