चितवन, १२ जेठ । चितवन जिल्लामा चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने मुख्य गिरोहलाई प्रहरीले नै संरक्षण दिएको खुलासा भएको छ ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले आफू आउनासाथ सरुमै चोरीका गाडी कारोबार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउने घोषणा गरेका थिए ।
एसपी थापाले पत्रकार सम्मेलन नै गरेर ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठ र फडिन्द्र भण्डारीको गिरोह आफ्नो कारबाहीबाट जोगिन नसक्ने दाबी गरेका थिए ।
अहिले यी दुबै गिरोहले प्रहरीमा सेटिङ मिलाएका कारण खुल्म खुल्ला चितवनमा गाडी र मोटरसाइकलको कारोबार गर्न थालेको स्रोतको दाबी छ ।
चितवन प्रहरी स्रोतका अनुसार यो दुबै गिरोहले माओवादी केन्द्रका उच्च नेताहरूलाई हातमा लिएर प्रहरीमा सेटिङ गरेका कारण चोरीका गाडी र मोटरसाइकलको कारोबार बढेको छ । एसपी थापा प्रधानमन्त्री पुष्पकमल दाहालका खास मान्छे हुन् ।
अर्कोतिर चितवन, नवलपरासी र हेटौंडामा दैनिक पाँचवटा भन्दा बढी मोटरसाइकल चोरी हुँदा समेत प्रहरीको ध्यान पुग्न सकेको छैन ।
एसपी थापाका घुमुवा प्रहरी हबल्दार रामप्रवेश यादव, असई कमल परियारले दीपु श्रेष्ठको गिरोहसँग रकम असुलेपछि श्रेष्ठको गिरोहले खुलेरै चोरीका गाडी र मोटरसाइकलको कारोबार गर्न थालेको प्रहरीहरू स्रोत बताउँछ ।
तराइका विभिन्न जिल्लादेदि काठमाडौंसम्म नेटवर्क बनाउँदै आएका दीपुलाई ललितपुर प्रहरी परिसरका तत्कालीन एसएसपी पिताम्वर अधिकारीले चोरीका गाडीको पाटपुर्जा र पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेका थिए ।
तर, अदालतमा सेटिङ मिलाएर दीपु छुटेपछि उनको गिरोहको जालो झनै फैलिएको छ । प्रहरीले पाँच महिना अगाडि भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागजपत्रविनाका गैरकानूनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको थियो ।
प्रहरीले सो वर्कसपबाट तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीका इन्जिन समेत बरामद गरेको थियो । प्रहरीले फणिन्द्र भण्डारीको उक्त वर्कशपमा काम गर्ने मुसे भन्ने बच्चन कार्की, देवनारायण श्रेष्ठ, गंगाबहादुर गुरुङलगायतलाई पक्राउ गरी मुद्दा
चलाएको थियो । तर, उनीहरू धरौटीमा छुटिसकेका छन् । भण्डारीलाई एसपी थापाले उन्मुक्ति दिएका कारण उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
त्यस्तै , रत्ननगर नगरपालिका–८ बकुलहरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डिशन पसलबाट दुई थान मोटरसाईकलसहित आश्विन श्रेष्ठ र कपुर विकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलका संचालक रहेका दीपुको निर्देशनमा काम गरेको प्रहरीसँगको बयानका क्रममा कपुर र आश्विनले नाम पोलेका थिए । त्यस लगत्तै एसपी थापाले आफू गिरोहको मुख्य नाइकेसम्म पुगिसकेको भन्दै पत्रकार सम्मेलन नै गरेर दीपुको गिरोहलाई कारवाही गर्ने दाबी गरेका थिए ।
पाँच महिना बितिसक्दा पनि गाडी चोरीको गिरोह कारवाहीमा नपर्ने र उल्टै उनका घुमुवा प्रहरीहरूको समेत संकास्पद व्यबहार देखिएपछि एसपी थापाको नियतमा नै प्रश्न चिन्ह खडा भएको स्थानीय पीडितहरूको भनाइ छ ।
प्रहरीले पुस २ गते भरतपुर–४ बाट बरामद गरेको रातो रङको सुजुकी मारुती कार, बा ४० प ६९५६, ना ५ प ४५९५, ग १ प९३०, ना १७ प २८४९, बा ३ प ७९५०, लु ४ प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल समेत दीपुको रहेको रहस्य खुलेको छ ।
यसरी हुन्छ चोरीको कारोबार मुख्य गरेर गाडी चोरीको कारोबार गर्ने गिरोहले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर चितवन, पर्सा, नवलपरासीदेदि काठमाडौं र ललितपुरसम्म पुगाई बिक्री गर्दै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।
दीपुसँगको सेटिङमा भारत घर भएका टिएन मिश्र र आलमले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर चितवन, पर्सा, नवलपरासीदेदि काठमाडौं र ललितपुरसम्म पुगाइ बिक्री गर्दै आएको स्रोतको दाबी छ ।
गिरोहले वीरगञ्ज र भैरहवा भन्सारमा सेटिङ मिलाएर अबैध गाडीको कारोबार समेत गर्दै आएको छ । गिरोहले भारतबाट पुराना तथा नयाँ गाडीहरू चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने, कवाडीको भाउमा भन्सार सकार्ने र पछि नयाँ गाडी चोरेर ल्याई त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएको छ ।
गिरोहले बिशेषगरी स्करपियो, बुलेरो, स्यान्ट्रो र मोटरसाईकलको कारोबार गर्दै आएको प्रहरी अधिकारी नै बताउँछन् । दुई वर्ष अघि चितवन प्रहरीले दर्जनौ चोरीका गाडी र मोटरसाइकल सहित विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्बर समेत बरामद गरेको थियो ।
तर, अहिले प्रहरी अधिकारीकै मिलेमतोका कारण दीपुको समूहले गिरोह परिचालन गरी काठमाडौं, ललितपुर, भैरहवा, नवलपरासीमा हराएका अधिकांश मोटरसाइकल आफ्नो मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउसमा ल्याएर पार्टपुर्जा झिकी अबैध कारोबार गर्दै आएको एक प्रहरी अधिकारीले बताए ।
दीपुले ग्लोवल आईएमई बैंक लुटपाट काण्डका अभियुक्त काठमाडौं बानेश्वर बस्ने टीका थापा मगर, खोल्डे भन्ने सुभराज थापा मगर र उदयपुर घर भएका श्याम थापा भन्ने सुमित लामालाई परिचालन गरी काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा ल्याई पाटपुर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर विक्री गर्दै आइरहेको स्रोत बताउँछ ।
सुमित लामा र टीका थापा मगरलाई गत वर्ष महानगरीय अपराध महाशाखाले पक्राउ गरी मुद्दा चलाएको थियो । चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर गिरोहले अबैध कारोबार गर्दै आएको छ ।















प्रतिक्रिया