१४ कार्तिक २०८३, शनिबार

सरकार गठनमा के हुन्छ अबको प्रक्रिया ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई सहमतीय सरकार निर्माणका लागि आह्वान गर्ने भएकी छिन् ।

उनका प्रेस सल्लाहकार माधव शर्माका अनुसार प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपतिले विगतको परम्परालाई समेत आधार मान्दै दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले त्यस्तो सरकार गठनका लागि सात दिनको समयसीमा दिई आह्वान गर्नेछिन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसबीचमा पनि दलहरूले सहमतीय सरकार गठन गर्न नसकेमा उनले बहुमतीय प्रक्रिया सुरु गर्न व्यवस्थापिका–संसद्लाई पत्र पठाउनेछिन् । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । संसद्मा बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपति कार्यालयबाट पत्र आएमा भने सभामुखले संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछिन् । सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्नेछ ।

बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले निर्वाचन कार्यतालिका तोक्दै संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ । निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले पदबाट राजीनामा दिएको १० दिनपछि मुलुकले नयाँ प्रधानमन्त्री पाएको थियो । ओलीले ९ साउनमा राजीनामा दिएका थिए ।