२ कार्तिक २०८३, सोमबार

आइजिपी नियुक्तिमा नयाँ आयाम

27.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । आफ्नै पटक–पटकको प्रयास र अदालतको जोडबलमा समेत प्रहरी प्रमुख बन्नबाट बञ्चित डिआइजी नवराज सिलवाललाई वैशाख ११ गते प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट सीधै प्रहरी प्रधान कार्यालय लगी लिएको बयान फेला परेको छ ।

अधिवक्ताकै सामु सर्वोच्च अदालतसमक्ष पेश गरिएको कार्यसम्पादन मूल्यांकनको प्रतिलिपिका सम्बन्धमा अनुसन्धान गर्न गठित छानविन समितिले सिलवालसँग कडा बयान लिएको थियो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

वकिल साथमै भए तापनि धेरै ठाउँ चुकेका कारण उनकै सहयोगमा सिलवाल अत्यन्तै रक्षात्मक जवाफ दिन बाध्य भएको कागजातबाट देखिन्छ ।

धन्न यता बन्दी प्रत्यक्षीकरणको रिटमा तुरुन्तै सर्वोच्चले रिहा गर्न आदेश दिएको कारण बिमार अवस्थामा रहेका सिलवालले थप मानसिक तनाव झेल्नुपरेन । प्राप्त त्यही बयानको प्रतिलिपि मात्र हेर्ने हो भने पनि लाग्छ, यदि अदालतको शीतल छहारी नमिल्दो हो त प्रचण्ड सरकारले उनलाई किर्तेमा अहिलेसम्म हिरासतमै दुःख दिइराख्ने थियो ।

प्रस्तुत छ निर्णायक प्रश्नहरूको रुपमा तयार नरहेको स्वीकार गरेका सिलवालले दिएको बयानको अंशः

सवाल नं. ३ तपाई छानबिन समितिसमक्ष बयान कार्यका लागि तयार हुनुहुन्छ ? यो प्रश्नको जवाफमा उनको भनाइ छ, ‘म मानसिकरुपले असमर्थ छु । कारण जयबहादुर चन्दविरुद्ध मुद्दा दायर भई बृहत् पूर्ण इजलासबाट फैसला भएपछि प्रहरी महानिरीक्षकको पदमा अन्य व्यक्ति बढुवा भएको र मैले मुद्दा हाली १९ गते सुनुवाईको लागि मिति तोकिएको छ ।’ उनले अगाडि थपेका छन्, ‘पुरक निवेदन दायर गरी विचाराधीन रहेको अवस्थामा मानसिक रुपमा तनावग्रस्त भएको र ढाडको बिरामी भई चिकित्सकको सल्लाहअनुसार बेड रेस्टमा रहेकाले बयान दिन असमर्थ छु ।’

अर्को प्रश्न थियो, ‘आफू र प्रकाश अर्यालसमेतको आव ०७२/७३ को कार्यसम्पादन मूल्यांकन फारम सर्वोच्च अदालतमा पेश गर्नुभएको पाइयो । उल्लिखित का.स.मू.को प्रतिलिपि प्राप्तिको स्रोत के हो ?’ यो चौथो प्रश्नको जवाफ पनि त्यही आयो, ‘बयानको निम्ति असमर्थता व्यक्त गरिसकेको छु । के, कस्तो कागज पेश गरेको हो, सर्वोच्च अदालतबाटै बुझिपाउँ । आफ्नो मुद्दाको सम्बन्धमा अन्यत्र भन्ने र बयान दिने–दिलाउने कार्य अदालतको मानहानीजनक हुने व्यहोरा अनुरोध गर्छु ।’

त्यसपछि उनैले पेश गरेको कासमूको प्रतिलिपि देखाउँदै समितिले सोध्यो, ‘यो तपाईले पेश गरेको हो वा होइन ?’ तर जवाफ फेरि पनि उही, ‘यससम्बन्धमा पनि बयान दिन सक्दिन ।’