काठमाडौँ, २७ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले बाराको सिम्रौनगढमा भएको घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले संसद्मा आवाज उठेबमोजिम संसदीय छानबिन समिति गठन गर्ने र त्यसको प्रतिवेदन शिरोधार्य गरिने अवगत गराउनु भएपछि संसद्को बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय राजनीतिक दल र प्रशासन आपसमा बसेर गरिएको सहमतिबारे संसद्मा जानकारी गराउँदै सो सहमतिमा मृतक जयनारायण पटेललाई राष्ट्रिय सहिद घोषणा गर्न, परिवारलाई अधिकतम राहत उपलब्ध गराउन तथा उच्चस्तरीय समिति गठन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने उल्लेख भएको बताउनुभयो ।
यस्तै, घाइतेको निःशुल्क उपचार गराउने, सिम्रौनगढ– हरिहरपुर सडकमा पिच गर्ने प्रक्रिया तीन महिनाभित्र प्रारम्भ गर्ने र सडकको नाम मृतक पटेलका नाममा राख्ने, मृतकका एक छोरीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, घटनास्थलमा मृतकको सालिक बनाउने, दोषीमाथि कारबाही गर्ने, मृतकको घरसम्म पिच बाटो बनाउनेजस्ता जिल्लास्तरमा भएका सहमतिप्रति सरकार सकारात्मक रहेको उहाँले स्पष्ट गर्नुभयो ।
उहाँले जिल्लाबाट आएको जानकारीलाई बढाइचढाइ नगरी सदनमा घटनाबारे अगवत गराइसकेको बताउनुभयो । घटनाका सम्बन्धमा विपक्षीहरूले संसदीय समिति गठनलगायतको माग राखी व्यवस्थापिका–संसद्को सोमबारको पहिलो बैठक अवरुद्ध गरेपछि दोस्रो बैठकमा गौतमले यो जानकारी दिनुभएको हो ।















प्रतिक्रिया