१४ कार्तिक २०८३, शनिबार

जनप्रतिनिधिहरूलाई बस्ने ठाउँको अभाव, भवन नै छैन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । स्थानीय तहका पहिलो चरणको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भइरहँदा कतिपय स्थानमा बैठक बस्ने ठाउँको नै अभाव हुने भएको छ ।

साविक पुराना ५८ नगरपालिकाबाहेक नवघोषित गाउँपालिका र नगरपालिकाको आफ्नै भवन छैनन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले तोकेको सबै गाउँपालिका र नगरपालिकाको केन्द्र साविक जिल्ला विकास समिति र गाविस भवनभन्दा अन्यत्रै कायम गरिएका छन् । उक्त स्थानमा गाउँपालिका र नगरपालिकाको आफ्नै कार्यालय छैनन् ।

नेपाल नगरपालिका सङ्घका महासचिव विदुर मैनालीले गाउँपालिका र नगरपालिकाले भाडामा लिएका कार्यालय पनि साँघुरो भएकाले निर्वाचित जनप्रतिनिधि आउँदा बैठक बस्ने ठाउँकै अभाव हुने बताए ।

उनका अनुसार अहिले गाउँपालिका र नगरपालिकाको केन्द्र साविकको स्थानभन्दा अन्यत्र तोकिएकाले पनि निर्वाचित जनप्रतिनिधिलाई बैठक बस्न ठाउँको अभाव हुने भएको हो ।

न्यूनतम पाँचवटा वडा भएका गाउँपालिकाको गाउँसभामा २७ जना र गाउँ कार्यपालिकामा ११ जना प्रतिनिधि रहने व्यवस्था स्थानीय तह निर्वाचन ऐनमा उल्लेख छ ।

त्यस्तै १५ वटा वडा भएको गाउँपालिकाको गाउँसभामा ७७ जना, गाउँ कार्यपालिकामा २१ जनाको रहने व्यवस्था छ ।

त्यस्तै नौवटा वडा भएको नगर सभामा ४७ जना र नगर कार्यपालिकामा १९ जना रहन्छन्। त्यस्तै ३४ वडा भएको महानगरपालिकाको नगरसभामा १७२ जना र नगर कार्यपालिकामा ४४ जना रहने व्यवस्था उक्त ऐनमा उल्लेख गरिएको छ ।

संविधानको अनुसूची ८ मा दिएको अधिकारअनुसार अब स्थानीय तहमा कम्तीमा पनि सातदेखि ११ वटा शाखा रहने र त्यसमा न्यूनतम ७० जना कर्मचारी रहन सक्छन् ।