काठमाडौँ, २६ असोज । प्रमुख तीन राजनीतिक दलले छलफललाई तीवैता दिएका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को आइतबर सिंहदरबारमा बसेको बैठकमा संविधान निर्माणमा सहमति हुन बाँकी विषयमा गम्भीर छलफल सुरु भएको छ ।
संविधान निर्माणमा देखिएका असहमतिका विषयमा तोकिएको समयमै सहमति खोज्न प्रमुख तीन दल बिहानैदेखि छलफलमा जुटेको र दिनभरि बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् ।
बैठकमा सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा गम्भीर छलफल सुरु भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।
उपरोक्त विषयमा सबै दलका आफ्ना धारणा राख्नुका साथै सहमतिको मिलनबिन्दु खोज्ने विषयमा विभिन्न दृष्टिकोणबाट छलफल सुरु भएको उपसभापति पौडेलले जानकारी दिनुभयो ।
संविधान निर्माणका जटिल विषयमा तीन दलबीचको छलफलपछि मधेस तथा जनजाति केन्द्रित दलहरूसँग पनि छलफल गरी सहमतिका पुग्न प्रयास गरिने बताइएको छ ।
आजको बैठकमा प्रमुख तीन दलले राखेका धारणाका बारेमा सकारात्मक र नकारात्मक पक्षबाट छलफल हुनुका साथै आफ्ना अडानका बारेमा लचिलो हुने सम्भावना देखिएको एमालेका उपाध्यक्ष भीम रावलले बताउनुभयो ।
बैठकमा एमालेले सात प्रदेशसहितको सङ्घीयताको खाका राख्नुका साथै शासकीय स्वरूपका बारेमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिको अडानमा सहमतिका लागि एमाले लचिलो हुने उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया