१४ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरबारे यस्तो आयो ‘कठोर’ सत्य

20.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । राजधानी रहेको काठमाडौं महानगरपालिकामा खसेको पौने दुई लाख मत कसकसको पोल्टामा पर्ने हो ? मतदाता प्रत्येक क्षण यही परिणामको प्रतीक्षामा छन् ।

सोमबारदेखि मंगलबार दिउँसो १२ बजेसम्म एमालेले अग्रता लिए पनि ३ बजे एक्कासि कांग्रेसले अग्रता लियो । त्यसको दुई घन्टा पनि नबित्दै फेरि एमालेले अग्रता कायम गर्‍यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नक्सालस्थित १ नम्बर वडाको मतगणनामा एमाले अघि आए पनि कोटेश्वरस्थित वडा नम्बर ३२ को गणनामा एक्कासि कांग्रेसले अग्रता लिएको थियो । मतदाता निर्वाचन परिणाम थाहा पाउन जति व्यग्र छन् मतगणना त्यति नै सुस्त छ । दिनभरि राजनीतिक पण्डित्याइँ गर्न व्यस्त मतदाता अत्यन्त अधीर छन् भने यस्तै सुस्त गतिमा मत परिणाम आउन हप्तौं समय खेर फाल्न बाध्य हुनुपर्ने देखिन्छ ।

काठमाडौं महानगरको मतगणना कति ढिलो भइरहेको छ भन्ने उदाहरण २४ घन्टाको मतपरिणाम हेरे प्रस्ट हुन्छ । सोमबार दिउँसो २ बजे सुरु भएको मतगणनामा मंगलबार दिउँसो २ बजेसम्म एक हजार १९ मतको मात्र गणना हुनुले सुस्त गति स्पष्ट पार्छ ।

यही गतिमा मतगणना हुने हो भने महानगरपालिकाको सबै परिणाम आउन करिब एक सय ७२ दिन अर्थात् साढे पाँच महिनाभन्दा बढी समय लाग्नेछ ।

मतगणनास्थल राष्ट्रिय सभागृह परिसरमा भेटिएका मतदाता रमेश केसीले व्यंग्यात्मक शैलीमा भन्नुभयो, ‘यस्तै गतिमा मत गन्ने हो भने उम्मेदवारले म निर्वाचनमा लडेको थिएँ भन्ने पनि बिर्सन बेर छैन । होइन भने सम्भव भए ३२ वडाको एकएक समूह बनाएर गणना गर्नुपर्छ, नसके पनि १५ वटा बनाएर गन्नैपर्छ ।’

महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेकोमा १ लाख ७२ हजार ६ सय ८६ मत खसेको छ । काठमाडौं महानगरको मेयरमा २८ जना, उपमेयरमा १३ सहित वडाध्यक्ष र सदस्यमा समेत गरी ८ सय ४७ जना उम्मेदवार छन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको मतगणना सभागृहमै भएको थियो । त्यसबेला एमालेबाट वडा नम्बर २४ मा अध्यक्षका उम्मेदवार उमेश स्थापितले हाल एक समूह बनाएर गणना गरिरहेकै ठाउँमा त्यतिबेला ६ र एक तलामाथि २ गरी आठ समूहमा विभाजन गरेर मतगणना गरेको जानकारी दिनुभयो ।