काठमाडौं, २ जेठ । पत्रकार रवि लामिछानेले ‘चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छु’ भनेर आफूले नभनेको र भ्रममा नपर्न आग्रह गरेका छन् ।
आज विहानैदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा ‘चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छुः रवि लामिछाने’ भन्ने स्टाटस भाइरल भएपछि रविले साँझ दैनिक नेपालसँग कुरा गर्दै त्यसको खण्डन गरेका हुन् ।
उनले यसलाई आफ्नो चरित्र हत्या गर्ने षडयन्त्र समेत भनेका छन् ।
कसरी आयो यो कुरा सामाजिक सञ्जालमा ?
लामिछानेले सोमबार बेलुका न्युज २४ टेलिभिजनमा ‘एक्जिट पोल’ कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा लामिछानेले आफ्ना सहायक प्रस्तोतासँग भरतपुरको सम्भावित मतपरिणाम र गठबन्धनबारे बहस गरेका थिए । उनले निर्वाचनमा सँधै प्रतिपक्षीलाई आरोप लगाउने सुविधा हुने बताएका थिए ।
तर उनको कुरा बंग्याएर मंगलबार बिहानबाटै उनले ‘आत्महत्या गर्छु’ भनेको भन्ने पोस्ट भाइरल भयो । लामिछानेको धारणा भनिएको विषयलाई लिएर माओवादी केन्द्रका समर्थकले उनीविरुद्ध तीव्र असन्तुष्टि र आक्रोश पोखे । सामाजिक सञ्जालबाट उनले माओवादी समर्थक तथा पत्रकारबाटै आलोचना र गाली पनि खाए ।
तर, पत्रकार लामिछानेले मंगलबार साँझ आफूले त्यसो नभनेको स्पष्ट पार्दै भने- ‘हावादारी कुरा हो, केही भनेकै छैन, लाइभमा त्यस्तो कसले भन्छ र ?’ उनले आफ्नो धारणाबारे टेलिभिजन कार्यक्रमबाटै स्पष्ट गर्ने समेत बताए ।
यसअघि प्रचण्डको सिकार भए, अहिले माओवादीको
स्मरण रहोस् रवि लामिछाने नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउथे । उनले यो कार्यक्रम आफ्नै मेहनतमा उत्पादन गरेका हुन् । स्पोन्सर पनि आफैले खोजेका थिए । सुशील कोइराला प्रधानमन्त्री हुँदादेखि प्रक्रियामा रहेको कार्यक्रमलाई रविले केपी ओली प्रधानमन्त्री हुँदाबाट सञ्चालनमा ल्याए ।
तर, जब केपी ओलीको सरकार ढल्यो अनी प्रचण्ड प्रधानमन्त्री बने । उनले रविले आफैले उत्पादन गरेको कार्यक्रम खोसेर माओवादी निकट पत्रकार एवं सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माको जिम्मा लगाए । रविबाट खोसेर बबिनको जिम्मा लगाएसँगै अहिले त्यो कार्यक्रम प्रशारणै हुन छाडेको छ ।
प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष प्रचण्डको सिकार बनेका रविलाई अहिले माओवादी कार्यकर्ताले झुटो कुरा प्रचारमा ल्याएर सिकार बनाउन खोजेका छन् । उनी भन्छन्- ‘यो मेरो चरित्र हत्या गर्ने षडयन्त्र हो ।’
















प्रतिक्रिया