म्याग्दी (बेनी), २ जेठ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२मा ज्यामरुक कोटमा नेकपा एमाले– राप्रपा समूहबाट ६ र नेपाली काँग्रेसबाट एक जना उम्मेदवार विजयी हुनुभएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापा ६३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ ।
आइतबार राति ११ बजेदेखि सुरु गरिएको मतगणनाको सोमबार मध्यरातमा प्राप्त अन्तिम मतपरिणामनुसार बेनी नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले एक हजार ३९० र काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार १९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । अहिले बेनी– ३ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा एमाले र राप्रपा चुनावी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेबाट वडाध्यक्षका उम्मेदवार आसबहादुर थकाली ४५४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विजयी हिराचनले ४१७, स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २३६ र नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार दिनेश थकालीले ५५ मत मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ ७०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा शेरचनले २१५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । रासस











प्रतिक्रिया