काभ्रेमा जन्मिएका निकेश (नाम परिर्वन) भावनात्मक तथा शारिरिक रुपमा पुरुष समलिंगी हुन् । उनी आफ्नो पूरा नाम तथा ठेगाना समाजमा अपहेलित हुने डरले स्पस्ट खुलाउन चाहँदैनन् ।
पुरुष सँगै सम्बन्ध राख्न रुचाउने निकेश एक अमेरिकी नागरिकसँग विगत लामो समय देखि शारिरीक सम्बन्ध राख्दै आएका छन् । उनीसँग सम्बन्ध राख्न ती नागरिक हरेक बर्ष नेपालमा ‘भ्रमण भिसा’मा आइपुग्छन् ।
‘पहिला देखिनै म महिला भन्दा पुरुषसँग बढी आकर्षितथिएँ ।’, निकेशले भने, ‘किन मलाई महिलाप्रति इच्छा हुँदैन त ? इच्छा भएकोसँग किन मैले सम्बन्ध राख्न मिल्दैन ?’
‘अनेकौ प्रश्नले पिरोल्लिएर म गाउँमा हुर्केको थिएँ । यही अन्यौलका बीचमा परिवारले महिलासँग बिहे गर्न दबाव दियो । मैले मानिन । तर, अन्तमा सुख्खै पाइएन् । बिहे भए पनि हामीले सम्बन्ध राखेनौ । किनकी मलाई महिलासँग इच्छा नै हुदैन’, उनले भने,‘यतिकैमा नेवारी जात्रा तथा संस्कारको अनुसन्धान गर्न रुचाउने अमेरिकी नागरिक गाउँमा आए । विदेशीहरुका लागि पथ प्रदर्शकको रुपमा काम गर्ने साथीसँग गाउँमा आएका उनले महिनौ बिताए । तिनै नागरिकसँग निकेशको हिमचिम बढ्दै गयो । एक अर्कासँग चिनजान बढ्दै गए पछि ती विदेशी पनि पुरुषसँगै रुचि राख्छन भन्ने उनले पत्तो पाए ।
‘विदेशमा पनि समलिंगीहरुले त्यति राम्रो वातावरण पाएका हुँदैनन् । वातावरण भएको ठाउँमा पनि मन मिल्ने कहाँ मिल्छ र ?’, निकेशले भने, ‘अमेरिकी र मेरो भेट भगवानले नै मिलाइदिए । उनले र मैले एक अर्काको भावना बुझयौं । गाउँमै पहिलो सम्बन्ध भयो । त्यस पछि ती अमेरिकीले नेपालको ‘भिजिट’ भिसा थपेर नेपालमा बसे ।’
‘उनले मलाई विदेशमा लैजान्छु । सबै खर्च गर्छु पनि भनेका थिए । तर मैले परिवारको दवाबमा १६ बर्षमा गाउँकी नै महिला सँगै बिहे गरेको थिएँ । उनले सम्बन्ध बिच्छेद गरेर अमेरिका जाउँ नभनेका होइनन् । तर, परिवारको कारण त्यो वातावरण मिलाउनै सकिएन् ।,’ उनले थपे, ‘त्यसपछि उनी प्रत्येक बर्ष नेपालमा आउने जाने गर्छन् । उनको र मेरो गोप्य सम्बन्ध हुन्छ । उनैले मलाई भारत तथा चीन समेत घुमाएका छन् । ’
नेपाली समाजमा समलिंगी हुन्छन भन्ने कुरामा नै विश्वास नगर्ने धेरै भएकोले उनी र उनी जस्ताहरु आफू भन्दा टाढाका ‘पाटनर’ खोज्दै आफ्नो इच्छा पूरा गराउन बाध्य रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सम्बन्धी काम गर्ने निलहिरा समाज काभ्रे शाखाले जनाएको छ । नेपालमा पुरुष समलिंगी अर्थात ‘गे’हरुलाई केन्द्रीत गरेर काभ्रे तथा काठमाडौमा दुई वटा शाखा खोलिएको छ । काभ्रे शाखाका अनुसार यहाँ करिव ४ सय पुरुष समलिंगीहरु छन् । अधिकांश समलिंगीहरुको अन्य जिल्ला तथा विदेशी ‘पाटनर’हरु रहेका छन् । अमेरिका , क्यानाडा जस्ता देशबाट विदेशीहरु अनलाइनबाट चिनजान भएको आधारमा भेट्नका लागि नेपालमा आउने र सम्बन्ध राखेर फर्कने गरेको बताइएको छ ।
काभ्रे शाखामा साँगा, धुलिखेल, पाँचखाल र बनेपामा समलिंगी पुरुषहरु धेरै निलहिरा समाजको सम्पर्कमा आएका छन् । उनीहरुको यौनिक इच्छा दबिएर रहेको र कहाँ व्यक्त गरौ भन्ने अबस्था रहेकोले समाजको कार्यालयको सम्पर्कमा पहिलोपटक आउँदा धेरैले शारिरिक सम्बन्धबारे बढी जिज्ञासा तथा वातावरण मिलाइदिन अनुरोध गर्ने गरेको निलहिरा समाजमा कार्यरत तेस्रोलिंगी शुशिला लामा बताउँछिन् ।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिको अभियान संगठित रुपमा अगाडि बढेका कारण तेस्रो लिंगीको रुपमा नागरिकता पाउने, कानुनी व्यवस्था गर्ने जस्ता कामहरु भएको भन्दै उनले अल्पसंख्यकहरुको अधिकार प्राप्तिको आन्दोलन अन्य देशकाका लागि उदाहरण बनिरहेको बताइन् ।














प्रतिक्रिया