लन्डन । संसारभरि फैलिएका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ ।
यही जुन २५ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोजकद्वारा जानकारी दिइएको छ । सम्मेलनमा नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गरिनेछ ।
सम्मेलनले नेपालको संविधान कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरी नेपाल सरकार, संसद र अन्य निकायहरूलाई ती समस्याको समाधान तथा आर्थिक विकास संबन्धमा ठोस सुझावहरू प्रदान गर्ने बताइएको छ ।
संस्थाका कोषाध्यक्ष लिभरपुल जोन मुअर्स विश्वविद्यालयका प्राध्यापक एवं एसोसिएट डिन डा. पदम सिंखडाको संयोजनमा सम्मेलन हुन लागेको हो ।
यसैबीच, ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा हुन गैरहेको स्थानीय चुनाव निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
‘वीस वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुनेछ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पूरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं’, फोरमका अध्यक्ष प्राध्यापक सूर्य सुवेदी, क्युसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संसारभरि छरिएर रहेका नेपाली प्राज्ञिक वर्गबाट नेपालमा सुशासन र आर्थिक समृद्धिका लागि नीतिगत रुपमा योगदान दिने उद्देश्य लिएर प्रा. सुवेदीको अध्यक्षतामा सन् २०१५ मा ग्लोबल पोलिसि फर नेपाल स्थापना गरिएको थियो ।
जसको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१५ को डिसेम्बरमा काठमाडौंमा भएको थियो ।
काठमाडौंमा सम्पन्न फोरमको पहिलो सम्मेलनले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका अन्तर्राष्ट्रिय कानूनी पक्ष र नेपालको उच्च शिक्षामा भएको राजनीतिकरणबाट उत्पन्न समस्याका बारे छलफल गरेको थियो ।
सम्मेलनले आर्थिक नाकाबन्दीका विरुद्ध आवश्यक परे अन्तर्राष्ट्रिय न्यायिक तथा अर्ध न्यायिक निकायमा जानका लागि नेपाल सरकारले उपयुक्त ठानेमा कानूनी सहयोग गर्न तत्पर रहेको सुझाव पनि दिएको थियो ।















प्रतिक्रिया