१४ कार्तिक २०८३, शनिबार

राजपा नेपालभित्रको विवादले नेताहरूलाई संकट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ ।

पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो । पछि पार्टीको नाम नै परिवर्तन गर्नु परेको छ । त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ । त्यस्तै पार्टीको विधान कस्तो बनाउने भन्नेमा पनि विवाद देखिएको छ ।

मधेसका लागि योगदान दिनुभएका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको चर्चा विधानमै हुनुपर्ने अडान अनिल झाले लिनुभएको छ तर अन्य नेताले त्यस्तो चाहनुभएको छैन ।

गजेन्द्रनारायण सिंहको नाम राखियो भने मधेसका लागि सहादत दिएका तथा सङ्घर्ष गरेका अन्य नेताको नाम पनि राख्नुपर्ने दाबी अन्य नेताले गर्नुभएको छ ।

विधानका लागि गठन गरिएको कार्यदल स्तरमा गजेन्द्रनारायणलगायत रघुनाथ राय, रघुनाथ ठाकुरको नाम राख्ने सहमति बने पनि अध्यक्ष मण्डलमा त्यसबारे सहमति जुटाउन बाँकी छ ।

अहिले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सङ्घीय गठबन्धनको संयोजकबाट हटाएको विषयलाई लिएर पनि विवाद उत्पन्न भएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएपछि राजपा नेताहरूले मधेसी मोर्चाको औचित्यमाथि मात्र प्रश्न उठाउँदै गठबन्धनका संयोजकबाट पनि अध्यक्ष यादवलाई हटाउनुभएको छ ।

उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर राजपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक बनाएपछि राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यसमा आपत्ति जनाउनुभएको छ ।

सो निर्णयप्रति उहाँ सन्तुष्ट हुनुहुन्न । गठबन्धनबाट उपेन्द्रलाई हटाउन वैशाख २३ गते बसेको बैठकमा अनुपस्थित रहनुभएका महेन्द्रराय यादवले राजपा नेपालले गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाएर गलत गरेको आरोप लगाउनुभएको छ ।