१४ कार्तिक २०८३, शनिबार

सिलवालको पेसीमा यसरी जालझेल गरी सार्नुपर्ने थिएन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसी बिहीबार पनि स्थगित गरिएको छ । प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्तिपछि डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइ २८ वैशाखका लागि राखिएको थियो । १९ वैशाखमा पेसी नसर्ने गरी पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी राखिएको पेसी बिहीबार पनि हुन सकेन । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

महाभियोगको प्रस्ताव संसद्मा दर्ता भएको चार दिनपछि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः काममा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले सो रिट स्थगित गरेकी हुन् ।

सिलवालको पेसी ८४ नम्बरमा राखेर स्थगित भएछ : महान्यायाधिवक्ता

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ

‘२७ वैशाख बेलुकीसम्मको पूरक साप्ताहिक पेसीमा नवराज सिलवालको रिटको पेसी ७६ नम्बरमा उल्लेख छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘तर, वैशाख २८ गते बिहानको पेसीमा ८४ नम्बरमा राखेर स्थगित गरिएको छ ।’ २८ वैशाखको पेसीमा ७६ नम्बरमा सीताराम चौधरीले दाङ जिल्ला अदालतलाई विपक्षी बनाएर दायर मुद्दाको पेसी राखिएको छ ।

‘साप्ताहिकमा राखिएको पेसीमा यसरी जालझेल गरी सार्नुपर्ने थिएन,’ महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘दैनिक पेसी तोकेर स्थगित गराएको भए पनि उनले तोक्ने इजलासमा शंका हुन्न थियो । डिआइजी सिलवालको पेसी रातारात किन स्थगित ? उहाँ (प्रधानन्यायाधीश) को इजलास तोक्ने प्रक्रियालाई अब कसरी बुझ्ने ?’

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले गत १७ वैशाखमा संसद्मा महाअभियोग दर्ता गरेसँगै चार दिन निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्कीको इजलास तोक्ने शैलीमा शंका उत्पन्न भएको श्रेष्ठले बताए । १९ वैशाखका लागि तोकिएको डिआइजी नवराज सिलवालको पेसी त्यसदिन कायममुकायम प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीले २८ वैशाखका लागि सारेका थिए ।