काठमाडौं । विदेशी नागरिकलाई लुटपाट गरेको अभियोगमा काठमाडौँ प्रहरीले नुवाकोटको तलाखु गाउँ विकास समितिका तीन युवालाई पक्राउ गरेको छ ।
काठमाडौँ सुन्दरीजलस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र बोर्लङ भञ्ज्याङमा विभिन्न समयमा विदेशी पर्यटकलाई लुटपाट गरेको अभियोगमा प्रहरीले तलाखु गाविसको वडा नं १ चिसापानीका अनिल तामाङ, विजय तामाङ र विन्दुराम तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले गएको फागुन १८ गते दुई अमेरिकी नागरिक र यही वैशाख ३ गते एक जना इजरायली नागरिकको धनमाल लुटेको पीडितहरुको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले अमेरिकी नागरिकको एक हजार अमेरिकी डलर, नगद १४ हजार रुपैयाँ, क्यामेरा, राहदानी दुई थान र झोला एक थान लुटेको प्रहरीले जनाएको छ । यस्तै, इजरायली नागरिकबाट अमेरिकी डलर ५००, नेपाली रुपैयाँ १३ हजार, झोला, कपडा र महत्वपूर्ण कागजात लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडाँै प्रहरीले नुवाकोटको विदुर नगरपालिका वडा नं ३ बट्टारका राम केसीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
काठमाडौँको तीनकुनेबाट लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले लागुऔषध डाइजेपाम ४३ एम्पुल, बुप्रेनर्फिन ४३ थान र फेनरागन ४५ एम्पुलसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेको नुवाकोट बट्टारका राम केसी र घटनामा संलग्न रहेका काठमाडाँैका सुमन लामालाई लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।














प्रतिक्रिया