वासिङ्टन, २३ असोज । हइटीमा अझै पनि हैजाको प्रकोप रहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सञ्चारकाअनुसार हइटीमा अझै पनि हैजाको प्रकोप घटेको छैन ।
तीनवर्षअघि हैजाले निकै नै खतरनाक रुप लिएको हइटीमा त्यसयता यसको प्रकोपमा केही कमी आएको थियो । तर हालैका दिनहरुमा यहाँ फेरि पनि सङ्क्रमण फैलिएको पाइएको छ ।
मलाई लाग्छ केही वर्षअघिको सो महामारीको नियन्त्रणमा हामीले जुन प्रगति हासिल गरेका थियौँ सोही कारण पनि यो समस्या सम्पूर्ण रुपमा समाधान भयो भन्ने यहाँका नागरिकले सोचेका छन्– हइटीका हैजाको प्रकोप नियन्त्रणका संयोजकले भने ।
उनको भनाइ छ– होइन, यो प्रकोपमा अझै पनि नियन्त्रण भइसकेको छैन, पछिल्ला समयको यसको वृद्धि हेर्दा देशमा यो खतरा अझै टरेको छैनजस्तो देखिन्छ ।
यो वर्ष अर्थात् सन् २०१४ को जनवरीकादेखि अगष्टसम्मको तथ्याङ्क हेर्दा यस अवधिमा करिब आठ हजार ६०० वटा हैजाका बिरामी अस्पताल भर्ना भएका थिए ।
तर विगतका तुलनामा यो निकै कम भए पनि सङ्ख्यात्मक हिसाबले भने यसलाई कुनै पनि हिसाबले कम भन्न मिल्ने अवस्था छैन– उनको भनाइ छ ।
उनका अनुसार गतवर्षको सोही अवधिमा भने हैजाका करिब दुई लाख नै सङ्क्रमितहरु अस्पताल पुगेका थिए ।
हइटीमा रहेका चिलीका एकजना कूटनीतिज्ञले यो अवस्थालाई एक आपत्कालीन अवस्थाका रुपमा नै लिनुपर्ने हुन्छ । जसको नियन्त्रणका लागि निकै ठूलो प्रयास आवश्यक रहन्छ ।
उनका अनुसार हालैका वर्षहरुमा हैजाको प्रकोप नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले गरेका प्रयासहरु त्यति प्रभावकारी हुन सकिरहेका छैनन् ।
कतिपयले यो प्रकोपको नियन्त्रणका लागि राष्ट्रसंघको भूमिका पनि विवादास्पद रही आएको बताएका छन् । जसका कारण चारवर्षसम्म पनि हैजा नियन्त्रणम आउन नसकेको पाइएको बताइएको छ ।
उसको भूमिका समन्वयात्मक हुन नसक्दा पनि यो प्रकोप नियन्त्रणमा प्रभावकारी काम हुन नसकिरहेको अधिकारीहरुले जनाएका छन् ।
सन् २०१० मा हइटीमा गएको महाभूकम्पपछि यो प्रकोप देखिएको हो । जसकाकारण त्यहाँ हजारौँ नागरिकले ज्यान पनि गुमाएका थिए ।
एकातार्फ भूकम्पको पुनःसंरचना र अर्काेतर्फ त्यहाँ देखिएको हइटीको महामारीका कारण त्यहाँ विश्वका दाता राष्ट्र एवम् संघसंस्थाहरुलाई पनि निकै नै गाह्रो परेको थियो ।
संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार त्यहाँ हैजाको प्रकोप फैलिएपछि यसले आजसम्ममा कम्तीमा पनि आठ हजार ५०० जनाको ज्यान लिइसकेको छ ।
सो प्रकोपबाट ७० हजारभन्दा बढी नागरिक बिरामी भई अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये धेरैजना उपचारपछि घर फर्किसकेका छन् । रासस÷एएफपी













प्रतिक्रिया