बागलुङ, २२ असोज । दसैँ अवधिभर बागलुङ जिल्लामा डेढ अर्बभन्दा बढी विप्रेषण भित्रिएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरूले दसैँको समयमा बढी मात्रामा पैसा पठाउने गरेकाले यस वर्ष रु एक अर्ब ५० करोडभन्दा बढी विप्रेषण भित्रिएको मनी ट्रान्सफर व्यवसायी सङ्घ बागलुङका अध्यक्ष दुर्गा कुँवरले बताउनुभयो ।
बागलुङ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्यधिक भएकाले पनि विप्रेषण बढी मात्रामा भित्रिने गरेको व्यवसायीले बताएका छन् । बागलुङ जिल्लाबाट ४० हजारभन्दा बढी युवा विभिन्न मुलुकमा रोजगारीमा गएका छन् ।
विदेश गएकाहरूले दसैँ मान्न नेपाल आउने बेलामा मनी ट्रान्सफरबाट पैसा पठाएर आउने गरेकाले गत वर्षको तुलनामा यस वर्ष बढी विप्रेषण भित्रिएको कुँवरको भनाइ छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारलगायत व्यापारिक केन्द्र हटिया, बुर्तिवाङ, कुश्मीसेरा, बरेङलगायतका बजारमा विभिन्न मनी ट्रान्सपर कम्पनी, बैंक तथा सहकारी सङ्घ संस्थाले विप्रेषणको काम गर्दै आइरहेका छन् ।
जिल्लामा ३० भन्दा बढी कम्पनीले विप्रेषणको कारोबार गर्दै आइरहेको सङ्घका अध्यक्ष कुँवरले बताउनुभयो । हरेक समयमा सामान्य विप्रेषण आउने भए पनि दसैँको बेलामा बढी मात्रामा आउँदा पैसा वितरणमै समस्या हुने गरेको बुर्तिवाङका विप्रेषण व्यवसायी राम शर्माले बताउनुभयो ।
दसैँ अवधिमा भित्रिएको विप्रेषणको ५० प्रतिशतभन्दा बढी रकम दसैँ किनमेलमै खर्च हुने गरेको छ । विदेशबाट फर्कंनेले नगद बोक्न छाडेका कारण बुर्तिवाङमा पनि विप्रेषण बढी मात्रामा भित्रिएको सहकारी सञ्चालक रामनारायण सुवेदीले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट सिधै पैसा पठाउने व्यवस्था हुँदा विदेशमा काम गर्नेलाई समेत सहज भएको सर्वसाधारणको भनाइ छ ।
करलिम बन्यो ‘रेमिट्यान्स भिलेज’
गाउँका प्रायः युवा विदेशिएर रकम पठाउन थालेपछि यहाँको एक गाउँको नाम नै परिवर्तन भएको छ ।
जिल्लाको बिहुँ गाविस–९ को ‘करलिम’ गाउँमा मासिक करिब दुई करोड रकम विप्रेषणका रूपमा आउन थालेपछि उक्त गाउँलाई हिजोआज ‘रेमिट्यान्स भिलेज’का रूपमा चिनिन थालिएको हो ।
वित्तीय कारोबार गर्ने संस्थासमेतले उक्त गाउँमा घरदैलो अभियान चलाएपछि करलिमलाई रेमिट्न्यान्स भिलेज भन्न थालिएको हो । एक सय ८० घरधुरी रहेको करलिम गाउँमा अधिकांश घरधुरीका युवाले विदेश गएर ठूलोमात्रामा रकम भित्र्याउने गरेका छन् ।
एउटै गाउँमा यति धेरै रकम भित्रिने गरेपछि सदरमुकाममा रहेका वित्तीय संस्थाका प्रतिनिधि दैनिकजसो आफ्नो संस्थामा खाता खोल्न आग्रह गर्दै घरघरमा आउने गरेको स्थानीय नन्दलाल कँडेल बताउनुहुन्छ ।
विदेश गएका युवाले मासिक रु दुई करोड करलिम गाउँमा पठाउने गरेको स्थानीय शिवप्रसाद कँडेलले बताउनुभयो । “हरेक घरका युवा विदेशमा छन्”, कँडेलले भन्नुभयोे ।
सो गाउँका करिब १८० युवा जापान, अमेरिका, आयरल्याण्ड, क्यानाडा, सिङ्गापुर, मलेसिया, कतारलगायतका मुलुकमा गएका छन् । जापानमा मात्र करिब १०० युवा रहेका छन् । हरेकले विदेशबाट आफ्नो घरमा न्यूनतम ५० देखि मासिक तीन लाख रूपैयाँसम्म पठाउने गर्छन् । तर उक्त रकम भने प्रायः भौतिक सम्पत्ति खरिद र विलासितामा मात्र खर्च भएको छ ।
विदेश गएर मनग्य आम्दानी गरेपछि सो गाउँको आर्थिक तथा शैक्षिकस्तरले कोल्टो फेरेको छ । युवाले गाउँमा जायजेथा थपेका छन् । बागलुङ बजार, पोखरा, काठमाडाँै, चितवन, नवलपरासीलगायतका क्षेत्रमासमेत घरजग्गा किनेका छन् ।
उक्त गाउँमा हाल वृद्धवृद्धामात्र बस्ने गर्दछन् । युवा विदेशिएका छन् भने विद्यालय उमेरका सबै बालबालिका र अभिभावक बजार झरेका छन् । रासस














प्रतिक्रिया