१४ कार्तिक २०८३, शनिबार

निगरानीमा ‘विप्लव’, सरकारले नछाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ ।

गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकार्यमाथि निगरानी सुरु गरेको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

विप्लवका नेता–कार्यकर्ताहरू फौजी तालिमप्राप्त भएकाले उनीहरू प्रमुख चुनौती भएको प्रहरीले जनाएको छ । ‘चुनाव बहिष्कार गर्नेहरू नै उपत्यकामा सुरक्षाका प्रमुख चुनौती हुन्,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘त्यसपछि गुन्डागर्दीमा संलग्न व्यक्तिहरू हाम्रा चुनौती हुन्, त्यहीअनुसार योजना बनाएर सुरक्षा योजना लागू भएको छ ।’

विप्लवको पार्टीमा पूर्वलडाकुहरू भएकाले उनीहरूले मतदातालाई आतंकित बनाउन विस्फोटलगायतका गतिविधि गर्न सक्ने भएकाले प्रहरीले ‘प्रोएक्टिभ पुलिसिङ’ सुरु गरेको छ । उपत्यकाका नाका र होटेलहरूमा प्रहरीले विशेष चेकिङ सुरु गरेको छ । गस्ती पनि बढाएको छ ।

निर्वाचनमा प्रभावित पार्न सक्ने भएकाले उपत्यकामा गुन्डागर्दीमा संलग्न करिब २० जनालाई पक्राउ गरिएको डिआइजी भण्डारीले बताए । निगरानी गरी गुन्डागर्दीमा सक्रियहरूलाई पक्राउ गर्न थालिएको र उनीहरूलाई चुनावभरि थुनामा राखिने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले चुनावपूर्व, चुनावको दिन र चुनावपछि गरी तीन चरणको सुरक्षा योजना बनाई लागू गरेको छ । उपत्यकाका तीन जिल्लामा ६ हजार ९ सय ८० नेपाल प्रहरी सुरक्षामा खटिँदै छन् । सुरक्षा जोखिम कम रहेकाले उपत्यकाबाट करिब २ हजार प्रहरीलाई बाहिरका जिल्लामा खटाइएको छ । उपत्यकामा ९ हजार प्रहरी छन् ।

सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षामा खटिनेछन् । तर, सशस्त्र कति खटिने प्रस्ट भइसकेको छैन । प्रहरी खटिँदै आएको विमानस्थल, कारागारलगायत स्थानमा सुरक्षाको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको छ । सेनाले उपत्यकामा नियमित गस्ती गर्न थालिसकेको छ ।