फलेवास (पर्वत), २२ असोज । नेकपा (एमाले)का नेताहरुले जुनसुकै हालतमा पनि माघ ८ गतेभित्रै संविधान जारी हुने बताएका छन् ।
युवा सङ्घ पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेताहरुले संविधानसभामा विवादित विषयमा छलफल प्रारम्भ भइसकेको र तोकिएकै समयमा संविधान जारी गर्न दलहरु संवेदनशील बनेकाले संविधान बन्दैनकी भनेर आशङ्का गर्ने ठाउँ नरहेको बताए ।
भएसम्म सहमतिबाटै नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने उनीहरुको जोड थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य गणेश तिमिल्सिनाले एमाओवादी नेतृत्वको मोर्चाले घोषणा गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभयो । बहुमतीय आधारमै भए पनि संविधान जारी हुन्छ उहाँले भन्नुभयो– दुई/चार जना सडकमा कुर्लिंदैमा केही हुनेवाला छैन ।
पर्वत क्षेत्र नं २ का सभासद् विकास लम्सालले पनि जुनसुकै हालतमा माघ ८ गते संविधान जारी हुने ठोकुवा गर्नुभयो । यो संविधानसभा संविधान जारी गर्नबाट कुनै पनि हालतमा पछि नहट्ने बताउँदै लम्सालले विगतका संविधानसभा जस्तै रातको १२ बजे लुरुलुरु घर फर्कने पक्षमा सभासद् नभएको स्पष्ट पार्नुभयो । उहाँले माओवादी नेतृत्वको मोर्चाले गर्ने संविधान विरोधी आन्दोलनलाई जनता र राजनीतिक दलहरुले ठेगान लगाइदिने चेतावनीसमेत दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, मना केसी, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेललगायतले पनि तोकिएकै समयमा संविधान जारी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, युवा सङ्घ नेपालका केन्द्रीय सदस्य शिवप्रसाद शर्मा, नेकपा (एमाले) अञ्चल कमिटीका पूर्व सदस्य मेघनाथ सुवेदी, प्रेमकुमार लामिछाने, अञ्चल कमिटी सदस्य देवेन्द्रराज पाण्डे, सुकुम्वासी समस्या समाधान आयोगका सदस्य तोयानाथ चालिसेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
युवा सङ्घ पर्वतका अध्यक्ष विमल लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस















प्रतिक्रिया