काठमाडौं, २० वैशाख । मंगलबार बिहान १० बजे स्थानीय तहको निर्वाचन मनोनयन केन्द्रहरूमा प्राय सुनसान थिए । कारण थियो प्रमुख राजनीतिक दलहरूले आफ्नो उम्मेदवार तय गर्न नसक्नु ।
पछिल्लो राजनीतिक घटनाक्रममा चासोसँगै क्रमशः ३, ४ र ६ नम्बर प्रदेशभित्रका ३४ जिल्ला २ सय ८३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भयो । राजधानी दैनिकले समाचार छापेको छ ।
उम्मेदवार दर्ताभन्दा अघि र दर्ताका समयमा केही रोचक घटना पनि भए । एक स्थानीय तहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने एक वडामा पनि निर्विरोध निर्वाचित भएका छन् ।
उपप्रमुखका उम्मेदवारको नामै भेटिएन
मंगलबार बिहान माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा उपमेयरमा मञ्जली शाक्यको नाममा उम्मेदवार तय गरेको थियो । प्रमुख र उपप्रमुख दुवैले खादा, माला र अबिर लगाएर मनोनयन दर्ता केन्द्रमा प्रवेश गरे ।
प्रमुखले आफ्नो उम्मेदवारी दर्ता गरे पनि उपप्रमुखले भने आफ्नो उम्मेदवारी दर्ता गर्न नै पाइनन् । उनका स्थानमा अर्कैको उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना भयो । कारण थियो मतदाता नामावलीमा उनको नाम नै थिएन । माओवादी नेतृ पम्फा भुसालसहित पुगेको टोलीले नाम खोज्न केही समय मेहनत पनि ग-यो, तर उनको नाम नपाएपछि माओवादी केन्द्रले तत्कालै अर्को उम्मेदवार खडा गरेर मनोनयन दर्ता ग¥यो । भाग्यमानी उपप्रमुखको उम्मेदवार बनिन् हसिना शाक्य ।
मतदाता नामावलीमा नाम भेट्टाउनै कठिन
निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्न पुगेका उम्मेदवारहरूले आफ्नो नाम भेट्टाउनै कठिन भएको थियो । नामावलीमा नाम खोज्न समय लाग्दा प्रमुख र उपप्रमुखसँगै पुगे पनि दर्ता क्रमसंख्यामा धेरै तल–माथिसमेत परेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार डबबहादुर गर्बुजा पुनमगर मनोनयन दर्ता फाराम भरेर पुरानो मतदाता परिचयपत्रसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । तर, उनको नाम सो क्रमसंख्यामा फेला नपर्दा हैरानी बेहोर्नुप-यो ।
आयोगले नयाँ स्थानीय तहअनुसार मतदाता नामावली प्रकाशन गर्दा यस्तो समस्या उत्पन्न भएको हो । यस्तै, माओवादी केन्द्रका काठमाडौं–२५ का उम्मेदवार किरण महर्जनले पनि यस्तै समस्या भोगे । उनले फोन गरी आफ्नी बहिनीलाई अनलाइनमा नाम हेर्न लगाएर मतदाता क्रमसंख्या पत्ता लगाएर उम्मेदवारी दर्ता गरे ।
ललितपुर महानगर उपप्रमुखमा राप्रपाका दुई उम्मेदवार
ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दुईजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । पहिला राप्रपाका तर्फबाट उपप्रमुखमा बाबुकाजी प्रधानले उम्मेदवारी दर्ता गरेका थिए । उनले उम्मेदवारी दर्ता गरेको ३ घण्टा नबित्दै राप्रपाले आफ्नो उम्मेदवार प्रधान नभएको भन्दै प्रमुख र उपप्रमुख दुवै पदमा नयाँ उम्मेदवारी दर्ता गरेको हो । उनीहरूमध्ये प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा सजिना कार्कीले उम्मेदवारी दर्ता गरे ।
जागिरले मेयर उम्मेदवारी चट
रामेछापको मन्थली नगरपालिकामा कांग्रेसले तीन दिनअघि नै युवराज भट्टराईलाई मेयरको उम्मेदवार तोकेको थियो । तर, अन्तिममा उनको अमेरिकन ग्रिनकार्ड रहेको पाइएपछि टिकट रद्द गरियो ।
डीभीवाला पछि हटेपछि मेयर बन्न तम्सिए मन्थली क्याम्पसका पूर्वप्रमुख गुञ्जबहादुर श्रेष्ठ । कांग्रेस पार्टीले मंगलबार बिहान उनलाई मेयरको उम्मेदवार तोक्यो । तर, उनको पनि मेयरको टिकट ३ घण्टाभित्रै सकियो । श्रेष्ठ क्याम्पस प्रमुख मात्रै नरहेर मन्थली नगरपालिकाको कर्मचारी पदपूर्ति समितिको सदस्यसमेत रहेछन् । लाभको पद भएकाले राजीनामा नदिई उम्मेदवार बन्न नपाउने ऐनमा व्यवस्था भएकाले राजीनामा स्वीकृत गर्न बोर्ड बैठक बस्नुपर्ने हुन्थ्यो । तर, बोर्डका पदाधिकारी मन्थलीमा नभएकाले उनको राजीनामा स्वीकृत हुन पाएन । अन्ततः उनी पनि तीन घण्टे उम्मेदवार बने । अन्ततः कांग्रेसबाट मेयरको टिकट विनोद कार्कीले पाए ।
हेलिकोप्टर बुकिङ एउटाको टिकट लिएर अर्कै उडे
भरतपुर नगरपालिकामा नेपाली कांग्रेसबाट टिकटको मुख्य दाबेदार थिए मिलनबाबु श्रेष्ठ । उनको प्रतिस्पर्धा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका टेकप्रसाद गुरुङसँग थियो । टिकट लिन मंगलबार बिहानैसम्म उनी काठमाडौंमै थिए । टिकट लिएर उम्मेदवारी दर्ता गर्न गाडीमा जाँदा नभ्याउने भएपछि उनले हेलिकोप्टर बुकिङ गरेका थिए । मंगलबार बिहान भरतपुर महानगरपालिकाको टिकट कृष्ण सिटौला पक्षका दिनेश कोइरालाले पाएपछि श्रेष्ठले बुकिङ गरेको हेलिकोप्टरमा पार्टी सभापति जितनारायण श्रेष्ठ भरतपुर गए ।
चुनाव गराउनेले नै झन्डै गरे आत्महत्या
रसुवाको कालिका गाउँपालिकामा चुनाव गराउने जिम्मेवारी थियो निर्वाचन अधिकृत सन्तोष गिरीको । तर, उम्मेदवारी मनोनयनको दिन अर्थात् मंगलबार बिहान उनी कालिका गेस्टहाउसमा खादाको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिए । समयमै उद्धार गर्न सकिएकाले उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई उपचार गराइँदै छ । निर्वाचन अधिकृत सन्तोष गिरीले आत्महत्या प्रयास गर्नुको कारण भने खुलेको छैन ।
महानगरको कुर्सीमा सर्वसाधारणको रहर
उम्मेदवार मनोनयनको दिन काठमाडौं महानगरपालिकामा ठूला दलले आफ्ना उम्मेदवार नै तय गर्न सकेका थिएनन् । तर, साना र नयाँ खुलेका दलका साथै नामै नसुनिएका स्वतन्त्र व्यक्तिहरू भने कार्यालय खुलेलगत्तै उम्मेदवारी दर्ताका लागि लाइनमा लागिसकेका थिए । उनीहरूमा यस्तो उत्साह थियो कि कसले पहिले दर्ता गर्ने भन्ने प्रतिस्पर्धा नै चल्यो । यो प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार जनिशा भट्टराई पहिलो भइन् । काठमाडौं महानगरको उपमेयरमा एक नम्बरमा उम्मेदवारी दर्ता गर्ने अवसर उनकै पोल्टामा प-यो ।
दुई उम्मेदवार निर्विरोध निर्वाचित
मनाङको ‘नारफु’ गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मिङमारछिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । लोकतान्त्रिक गणतन्त्र संस्थागतपछिको पहिलो स्थानीय सरकारको प्रतिनिधिका रूपमा उनी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, मुगुको छायानाथ रारा नगरपालिकाको ९ नम्बर वडाअध्यक्षमा माओवादी केन्द्रका मणिचन्द्र रोकाय निर्विरोध निर्वाचित भएका छन् । प्रमुख तीन पार्टी माओवादी, कांग्रेस र एमालेले पदको भागबन्डा गरी उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, नेपाली कांग्रेसले दुई सदस्यमा अदवीर रोकाय र दलित महिला सदस्य पाएको छ । एमालेको भागमा एक खुला सदस्य र एक महिला सदस्य परेको थियो । उक्त वडामा कुल १ सय ६३ मतदाता छन् ।












प्रतिक्रिया