बर्दिवास, २२ असोज । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको ‘चुमान’ विधि मङ्गलबार राति सम्पन्न भएको छ ।
पछिल्लो एक वर्षभित्र विवाह भएका दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपुजन परम्पराको ‘चुमान’ विधि गएराति महोत्तरीसहितका मिथिलाक्षेत्रमा सम्पन्न भएको हो ।
सामान्यतया आफ्नी कन्याको विवाहपछि राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पुजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमान’ भन्ने गरिएको छ ।
यस अवसरमा दुलही पक्षकाले दुलहाका लागि वस्त्रआभूषण र मिष्टान्न परिकार भेट गर्ने (उपहार दिने) परम्परा रहेको मिथिला लोक परम्पराकी जानकार जलेश्वरस्थित महेन्द्र आदर्श महिला उच्च विद्यालयकी शिक्षक नायडु नेपालीले बताउनुभयो ।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमान’ विधि पछिल्लो एक दशकयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षकाले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभूषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउनुपर्ने दुलहा पक्षकाको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको जिल्लाकै मटिहानीस्थित नेपाल राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।
भेटका लागि वस्त्रआभूषण, मिष्टान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलपूmलसहितका ५० भन्दा बढी भार (सोली) लिएर दुलहाको घर हिँडेको दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण जातिकै बूढापाकाको टिप्पणी बाक्लिएको देखिन्छ । विगतमा एक बिँडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नुपर्नेसम्मको स्थिति आएको भङ्गाहा–३ का ६५ वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताउनुभयो ।
पिता–पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शनजस्तै बनेकाले अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।
















प्रतिक्रिया