१४ कार्तिक २०८३, शनिबार

‘लेन’ मा देन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडौं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् ।

नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टौं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

खाल्डा राम्रोसँग पुरिएका छैनन् सडक सबै स्थानमा धुलौटे मात्र होइन, ग्रामीण ग्राब्रेल सडकजस्तै भएका छन् । सवारी साधनको बढ्दो चापसँगै अस्तव्यस्त सडकबाट हुने ट्राफिक नियन्त्रण चुनौतीपूर्ण छ । पछिल्ला दिन उपत्यकामा बढ्दो ट्राफिक समस्या र लेन अनुशासनमा ट्राफिक प्रहरीको सक्रियता आसलाग्दो देखिन थालेको छ ।

तीन वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपत्यकाको सडक विस्तार अभियान सुरु भएको थियो । सो अभियान अहिलेसम्म सकिएको छैन ।

उपत्यकाको सडक विस्तार नसकिएकै अवस्थामा दसैंअघि नै काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउने सरकारी योजनाका कारण झन् अस्तव्यस्त भयो ।

गौशालादेखि धुम्बाराहीसम्म घन्टौं जाम मात्रै हुँदैन धुलोले मानिसको सबै शरीर ढाक्ने गरेको छ । चाबहिल चोकदेखि जोरपाटीसम्मको अवस्था पनि त्यस्तै छ । यसैगरी सहरका सबै स्थानमा सवारी चापका कारण जाम हुने गर्छ । निर्धारित समयभित्र गन्तव्यमा पुग्न सकिँदैन ।

यो अस्तव्यस्त अवस्थामा ट्राफिक प्रहरीले अघि सारेका योजना र कारबाही लोकप्रिय बन्दै छन् । उपत्यकामा हर्न बजाउन निषेध पछिल्लो उदाहरण हो । बढ्दो जाम र धुलोधुवाँसँगै ध्वनि प्रदूषणका कारण यो व्यवस्था लागू भएपछि सडक शान्त बन्दै गएको प्रहरीको अनुभव छ ।

त्यसैगरी २० वर्षभन्दा बढी पुराना गाडी हटाउने निर्णयले पनि लेन अनुशासन कायम गराउन महत्वपूर्ण देन दिएको ट्राफिक प्रहरी बताउँछन् ।

सकडबीचमै बिग्रेर घन्टौं जाम पार्ने पुराना गाडी र धान्न नसकिने गरी बढेका दुईपांग्रे सवारीलाई व्यवस्थापन गर्न लेन मिच्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने नियममा कडाइ गरिएका कारण पनि ट्राफिक व्यवस्थापन सहज बनेको प्रहरीको दाबी छ ।

ट्राफिक प्रहरीले नियम पालनाका लागि सडकमा सक्रियता देखाएपछि सवारीचालक अहिले सजग भएर सवारी चलाउन थालेका छन् ।

डिजिटल नम्बर प्लेट हटाउने अभियानदेखि मादक पदार्थ सेवन गरेकालाई जरिवाना गर्ने अभियानसम्ममा जनताको मन जितेको ट्राफिक प्रहरीको दाबी छ ।