भीमदत्तनगर, २१ असोज । सामुदायिक वन दर्ता भएसँगै कञ्चनपुरको पर्सिया गाउँमा विवाद देखिएको छ । गत साउन २५ गते जिल्ला वन कार्यालय कञ्चनपुरमा दर्ता भएको नवदुर्गा सामुदायिक वन शङ्करपुर–९ पर्सियामा दिनहुँ किचलो हुने गरेको छ ।
वन दर्ता हुनुअघि उक्त सामुदायिक वनका अध्यक्ष सहादेव रानाले देखतभूली र शङ्करपुर गाविसको सिमानासँगै जोडिएको पर्सिया गाउँका उपभोक्तालाई समान अधिकार रहने गरी संयुक्त सामुदायिक वन बनाउने आश्वासन दिएका थिए ।
तर वन दर्ता गर्ने क्रममा अध्यक्ष रानालगायतका वन पदाधिकारीहरुले वन शङ्करपुर–९ पर्सियाको मात्रै बनाएपछि गाउँलेबीच किचलो सुरु भएको हो ।
देखतभूली गाविस–२ पर्सियाका स्थानीयले आफूहरुलाई वन समूहमा सहभागिता नगराएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले सङ्घर्ष समितिसमेत गठन गरी गठित सामुदायिक वनको विरोध गरेका छन् । उनीहरुले आफूहरुलाई पनि छुट्टै सामुदायिक वन हुनुपर्ने माग गरेका छन् ।
अध्यक्ष रानाले वन दर्ता गर्न गाउँलेबाट दुई लाख ६५ हजार सङ्कलन गरेको आरोपसमेत गाउँलेले लगाएका छन् । अध्यक्ष रानाले भने आफूले वन दर्ता गर्न एक लाख ६३ हजार गाउँबाट सङ्कलन गरेको स्वीकार गरेका छन् ।
वन दर्ताका क्रममा पैसा नभएपछि गाउँमा प्रतिपरिवार रु एक हजारका दरले रकम सङ्कलन गरेको उनको भनाइ छ । उनले वन दर्ता प्रक्रियामा एक लाख ५० हजार खर्च भएको दाबी गरेका छन् । तर उपभोक्ताले भने अध्यक्षलगायतका केही वन कर्मचारीको मिलेमतोमा गाउँबाट सङ्कलन गरिएको रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
यता, जिल्ला वन अधिकृत पशुपति कोइरालाले वन दर्ता गर्दा क्षेत्रफलका आधारमा रकम लाग्ने गरेको बताए । “धेरे क्षेत्रफल भए ४०/५० हजारसम्म खर्च हुन्छ ।” उनले भने, “सानो क्षेत्रफल भए रु १५/२० हजारमै दर्ता प्रक्रिया सकिन्छ ।” अधिकृत कोइरालाले वन दर्ताका नाममा उपभोक्ताबाट पैसा लिएर नसमेट्नु गलत भएको बताए ।















प्रतिक्रिया