महोत्तरी, २० असोज । अपहरणमा परेको झुठो हल्ला फैलाउने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सम्सी–८ बस्ने २८ वर्षीय बेचु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत बिहीबार सम्सी–८ मा लागेको मेलामा गएका युवक यादवले आफ्नो घरपरिवारलाई फोन गरी आफू अपहरणमा परेको भनेपछि परिवारजनले प्रहरी चौकी सम्सीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले अपहरणमा परेका यादवबारे अनुसन्धान तथा खोजी गर्दै जाँदा उनी अपहरणमा नपरी जिल्लाको बसबिट्टी–७ स्थित आफ्नो साथी दुखा दासको घरमा लुकी बसेको अवस्थामा आइतबार राति फेला परेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।
अपहरणको नाटक गरेर घरपरिवार, आफन्त तथा प्रहरीलाई हैरान पारेका युवक यादवलाई प्रहरीले सोमबार दिउँसो पत्रकारहरूमाझ सार्वजनिक गरेको हो ।
अपहरणको झुठो हल्ला फैलाएको आरोपमा यादवविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ ।















प्रतिक्रिया