१४ कार्तिक २०८३, शनिबार

भ्रष्टाचार अभियोगमा निलम्बित कर्मचारी बढुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।

महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ ।

गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो ।

तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन । श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब सात महिनाअघि श्रेष्ठलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरेको थियो । उनले हाल विशेष अदालतमा यससम्बन्धी मुद्दासमेत खेपिरहेका छन् ।

श्रेष्ठसँगै निलम्बनमा परेका महानगरपालिकाका अर्का इन्जिनियर रामहरि फुयाँलले भने राजीनामा दिइसकेका छन् । श्रेष्ठले अदालतबाट सफाइ पाएको खण्डमा २९ फागुन २०७३ देखि नै नियुक्ति पत्र पाउने गरी पदपूर्ति समितिले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत पौडेलले निलम्बनमा पर्नुअघिदेखि नै श्रेष्ठ बढुवा प्रक्रियामा सामेल भएको र बढुवाका लागि उनी योग्य भएकाले समितिले बढुवाका लागि सिफारिस गरेको बताए ।

महानगरपालिकाले ८ जना नगर प्रहरी गैरकानुनी रूपमा बढुवा गरेको भेटिएको छ । ती प्रहरीलाई गत २५ माघमै महानगरले गैरकानुनी रूपमा पाँचौं तहमा बढुवा गरेको थियो ।

महानगरले बढुवाको सूचना सार्वजनिक हुनासाथ सिनियरलाई छोडेर तीन वर्ष जुनियरलाई बढुवा गरिएको भन्दै महानगरकै सातजना कर्मचारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उजुरी गरेपछि यो प्रकरण सार्वजनिक भएको हो । बढुवाका लागि भरिने ‘कार्यसम्पादन मूल्यांकन फारम’ नियमविपरीत अर्कै व्यक्तिले भरेको र समग्र बढुवा प्रक्रियामा ठूलो आर्थिक चलखेल गरिएको भन्दै सातजना कर्मचारीले बढुवा निर्णय बदर गर्न माग गर्दै मन्त्रालयमा उजुरी गरेका छन् ।

‘ऐनमा सम्बन्धित महाशाखा वा विभागीय प्रमुखले कार्य सम्पादन मूल्यांकन फारम भर्नुपर्ने व्यवस्था छ, तर हाम्रो विभागीय प्रमुखले भरेको कार्यसम्पादन फारमलाई रद्दीको टोकरीमा फालेर हाम्रा सेवाका विषयमा जानकारी नै नभएका व्यक्तिलाई कार्यसम्पादन फारम भराएर गलत तरिकाले बढुवा गरिएको छ,’ स्रोतले भन्यो, ‘यसविरुद्ध हामीले मन्त्रालयमा उजुरी दिएका छौं, मन्त्रालयबाट न्याय पाएनांै भने हामी अदालतसम्म पुग्नेछौं ।’

स्रोतका अनुसार पाँचौं तहमा बढुवा भएका ८ जनामध्ये ईश्वरीप्रसाद वाग्ले, राजनकुमार कार्की र शिवजी दाहाल तीन वर्ष जुनियर थिए । ‘पाँच वर्ष कोरिया बसेर आएको व्यक्तिले समेत आर्थिक चलखेलमा बढुवा खाए,’ स्रोतले भन्यो, ‘महानगरपालिकाको बढुवा प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको छ, निष्पक्ष छानबिन हुनुपर्छ भनेर मन्त्रालयमा उजुरी दिइएको छ ।