१ कार्तिक २०८३, शनिबार

संविधान लेखनमा भएका प्रगतिको भट्टराईबाट राष्ट्रपतिलाई जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????

काठमाडौँ, १९ असोज । राष्ट्रपति डा रामवरण यादवलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले प्रस्तावित नयाँ संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने सन्दर्भमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको छ ।

संविधानका अन्तर्वस्तुमा देखिएका विवादलाई सहमतिमा रूपान्तरण गर्ने सिलसिलामा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकबाट बाहिरिएलगत्तै डा भट्टराई राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा बसेको प्रमुख तीन दलको बैठक नयाँ संविधानका प्रमुख अन्तर्वस्तु राज्य पुनःसंरचना, प्रदेशको सङ्ख्या, सीमा, नामकरण, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा केन्द्रित थियो ।

भेटका अवरमा सभापति डा भट्टराईले संविधान निर्माणमा दलबीच सहमति कायम गरेर कसरी अघि बढाउने भन्नेबारेमा राष्ट्रपतिबाट केही निर्देशन छन् भने प्राप्त होस् भनी मागसमेत गर्नुभएको थियो ।

सबै पक्षलाई समेटेर संविधान लेखनलाई सहमतिका साथ अघि बढाउन सभापति डा भट्टराईले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सरहना गर्नुभएको थियो । राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखी सबै मिलेर छिटो संविधान जारी गर्न सके मात्र मुलुक र जनताको कल्याण हुने बताउँदै राष्ट्रपति डा यादवले अन्यथा मुलुक सङ्कटतर्फ जान सक्ने खतरातर्फ सचेत रहन सभापति डा भट्टराईमार्फत सबै राजनीतिक दललाई ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

प्रस्तावित संविधानका अन्तर्वस्तुमा दलबीच देखिएका विवादलाई सहमतिमा रूपान्तरण गर्ने तथा सहमति भएका कामलाई टुङ्ग्याउँदै संविधान लेखनलाई तीव्रता प्रदान गरी मुलुक र जनताप्रतिको जिम्मेवारीलाई सबैले बोध गर्नुपर्छ भन्नेमा आफूहरूबीच कुराकानी भएको सभापति डा भट्टराईले जानकारी दिनुभयो ।