काठमाडौँ, १९ असोज । उद्योग मन्त्री महेश बस्नेतले संविधानका विवादित विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको पुनःसंरचनाको विषयमा दलहरुबीच सहमति हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले संविधान जारी गर्न दलहरुबीच सहमति कायम गर्न उच्चतम प्रयास गर्ने र त्यसो हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले) सकेसम्म कम राज्य बनाउनुपर्ने पक्षमा रहेको भन्दै मन्त्री बस्नेतले दलहरुबीच सङ्घीयतामा मात्रै कुरा नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘सकेसम्म पाँचदेखि सात प्रदेश बनाउनुर्छ भन्ने हाम्रो मान्यता हो, नामाङ्कन र सीमाङ्कनमा विवाद भए त्यसलाई थाती राखेर भएपनि संविधान जारी गर्नुको विकल्प छैन् ।’’
राष्ट्रिय जनमोर्चा नेपालको अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयतालाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिँदै दलहरुवीच जबसम्म प्रक्रियामा गएर भएपनि तोकिएकै मितिमा संविधान जारी गर्नुपर्छ भन्ने सहमति हुँदैन तबसम्म संविधान जारी हुनेमा आशङ्का रहने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर नभएको भन्दै सहमति भए सहमतिबाट र नभए प्रक्रियामा गएर मुलुकमा संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।
एकीकृत नेकपा(माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रक्रियामा गएर संविधान जारी गर्न नहुने भन्दै विगतमा राज्य पुनःसंरचना आयोगले अघि सारेको सुझावलाई आत्मसात गर्नसके सबै कुरा मिल्ने र सहमतिमा संविधान आउने बताउनुभयो ।
















प्रतिक्रिया