डा. कविताराम श्रेष्ठ
हिन्दुशास्त्रहरूमा विरोधाभास छन् भन्नु भन्दा पनि हिमवतखण्डमा हुर्केका विभिन्न धर्म र संस्कृतिका मान्यताहरू हिन्दुशास्त्रहरूमा संरक्षित छन् भन्न सही हुन्छ । हिन्दु एउटा धर्म होइन, हिन्दु संस्कृति भन्दा यसको सही अर्थ लाग्छ । हिन्दु संस्कृतिमा हिमालय दक्षिणका समस्त भू भागमा हज्जारौं वर्षदेखि बसोबास गर्दै आएका ककेसियन, अस्ट्रोलोइड, मंगोलोइड र निग्रोइट्स जातिका धेरै खाले आप्रबासी र आदिवासीहरूले आआफ्ना फरक संस्कृति सम्बर्धन गरे । कोही प्रकृति पूजक रिग्वैदिक आर्य, कोही हिंसापूर्ण यज्ञ गर्ने ब्राह्मणधर्मावलम्बी आर्य, कोही मनुस्मृतिबादी वर्णाश्रम धर्म मान्ने, कोही गाईलाई माता मान्ने र गाइको वर्द्धन गर्ने व्रिश्निवंशीरवैष्णव । त्यस्तै यिनमा धेरै थरिका आदिवासीहरू पनि थिए । जस्तैः हिंसा नगर्ने श्वेताश्वर उपनिषबादी शैव, लिङ्ग पूजा गर्ने लिंगायत, पशुपति (किरातेश्वर) मान्ने किराँत, हिंसापूर्ण भोग दिने शाक्त, वर्णाश्रम नमान्ने शैव, योग साधना गर्ने योगी, नाङ्गै हिंड्ने नागा, मान्छेको खप्परमा खाना खाने अघोरी, घरबार छोड्ने सन्यासी, रासलीला गर्ने कृष्ण प्रणायमि, पूजामा माछा मासु मद्य मूद्रा मैथुन आदि पंचमकर चलाउने शाक्तरतान्त्रिक। आर्य होस् वा अनार्य कोही पारलौकिक शक्तिलाई पूज्ने कोही नपूज्ने भौतिकबादी थिए । आर्यहरू त यज्ञ मात्र गर्थे, अनार्यहरू आफ्ना विधि गर्दा कोही संख फुक्थे, कोही ढ्यांग्रो ठटाउंथे, कोही घन्टो बजाउंथे, कोही नदी पूजा गर्थे, कोही ढुंगा त कोही रूख पूज्दथे । यिनमा बहुपति र बहुपत्नी राख्ने दुवै समुदाय थिए, शहरमा बस्ने र बनमा बस्ने दुवै थिए ।
यी अनेकन समुदायले आआफ्ना शास्त्र र दर्शनहरू विकास गरे, बुद्धको समयमा आइपुग्दा, चार वेद, वेदाङ्ग, उपवेद, अनेक ब्राह्मण, ६४ कला, उपनिषद, आस्तिक र नास्तिक दर्शन, रामायण र गीता समेत महाभारत दर्शन आदि ग्रन्थ तयार भैसकेको थियो । अनेक श्रुति र दन्त्यकथा पनि जनमानसमा थिए। मतान्तरनमा झडप हुन्थ्यो तथापि सहिष्णुता बढिथ्यो र सबै खाले ग्रन्थहरू समान रूपमा समाजमा प्रचारप्रसारमा आइरहेका थिए। त्यसैले आज हामी थरिथरिका एक अर्कामा नमिल्ने वा विरोधाभास लाग्ने ग्रन्थहरू पाउँछौं ्र यत्रो महासागर जनतासामू आउँदा जनता दिक्भ्रमित थिए। कुन सही. कुन बेसही, कुन मान्ने कुन नमान्ने ठूलो अन्यौल थियो ।
यी सबै आजभन्दा ५००० वर्षदेखि यस भूमिमा एका अर्कामा विग्रह गर्दै मिल्दै रसमायोजित गर्दै सिर्जना भएका ऐतिहासिक अनमोल नीधि थिए । आजभन्दा २६०० वर्ष यता आईपुग्दा यस अन्यौलबाट मुक्ति दिन बुद्धले पारलौकिक शक्तिलाई पूज्ने समस्त ग्रन्थहरूलाई अविद्या घोषणा गर्दै मानविय आचरणसम्मत सरल लौकिक धर्म दिए । यो धर्म सामान्य जनताको लागि बोध्य, अनुष्ठान गर्न सजिलो, सार्थक र खर्चहीन भएको हुँदा जनप्रिय बन्यो ्र अन्दाजी ५०० वर्षमा परलोकमा विश्वाश गर्ने हिन्दु संस्कृतिले यसमा प्रवेश पायो र यसभित्र अनेक सम्प्रदाय उन्नत भयो । त्यसैले यस धर्ममा पनि धेरै ग्रन्थहरू विकसित भए । बुद्ध धर्मले १००० वर्षसम्म हिमवत खण्डमा राज गर्यो, यसै अवधिमा एसियाभरका देशहरूमा यसले प्रसार पायो। आजभन्दा १६०० वर्ष अघितिर आउँदा भारतवर्षमा हिन्दु राष्ट्रबादी गुप्त साम्राज्य खडा भयो र गुप्तराजाहरु (समुद्रगुप्त समेत) ले समस्त छरिएका उपरोक्त शास्त्रहरूको संकलन, समायोजन, अद्यावधिकरण र सम्पादन गरी विभिन्न सम्प्रदायका अलगअलग पुराण र ग्रन्थहरू प्रकाशमा ल्याए । ती पुराणहरूमा पुराना कथाहरूका साथै त्यस अवधिसम्मका कुराहरू अद्यावधिक गरिएको हुँदा महावीर, बुद्ध, इशु ख्रिस्ट समेत गरी तत्कालिन राजवंशको समेत उल्लेख छ ।
पुराणहरू लेख्दा सम्बन्धित सम्प्रदायले आफ्नो वर्चस्व राख्न आफू वा आफ्ना देवलाई माथि राखेर रचना गरेको पाइन्छ । त्यसैले कतै विष्णु त कतै शिव र कतै शक्ति त कतै गणेश आदि ठूला देव मानिएका विरोधाभासहरू पाइन्छन् । गुप्तराजा हिन्दु राष्ट्रवादी भएपनि बौद्ध र जैन धर्मका शिक्षालाई अति सम्मान गर्थे र उनिहरू अतिनै सहिष्णु थिए । त्यसैले दशावतारमा बुद्धलाई समेत समेटे ।
हिन्दु संस्कृतिको यो पुर्जगारण थियो । यसपछि यसले संगठित रुप लियो । यसले हिमालय दक्षिणदेखि कन्याकुमारिसम्मका समस्त संस्कृतिलाई एकसाथ यथा पहिचान दिंदै सहिष्णुतापूर्ण ढंगमा समेट्यो र यसले व्याप्ति पायो । हिन्दु संस्कृतिमा अतिनै विरोधाभासपूर्ण सांस्कृतिक तत्वहरू हुँदाहुँदै पनि सबैलाई इश्वरीय तत्वपहिचान दिंदै आदर गरियो । त्यसैले मणिमाणिक्य लाउने देव र जंगली गहना लाउने शिवजी उत्तिनै एकै ठाउँमा पुजिन्छन् । २१ पल्ट क्षत्रीहरूको संहार गर्ने बाहुन परशुराम र परशुरामलाई नै परास्त गर्ने क्षेत्री रामचन्द्र र वेदैलाई नमान्ने बुद्धसमेतलाई पालनकर्ता अवतार पुरुषहरूको रूपमा पहिचान गरिएका छन् ।
हिन्दु संस्कृतिको सहिष्णुता संसारभरमा उल्लेख्य र उच्च छ । यसमा खलल ल्याउने पहिलो त पूरातनबादी ब्राह्मणहरू थिए, यी ब्राह्मणहरू उबेला हिंसक यज्ञका पुरोहित थिए, यज्ञ कसरी संचालन गर्ने भन्ने सम्बन्धमा ब्राह्मण ग्रन्थमा लेखिएको छ । यसमा जति ठूलो पशुको होम गरियो उति ठूलो पुण्य प्राप्ति हुने कुरा समावेश छ । सबभन्दा ठूलो प्राप्ति नरमेधबाट हुने र त्यस पछि घोडा गाइ आदि गरी पन्छी बलिको लहरक्रम छ । कृष्णको समयमा कृष्णजीले अहिंसक यज्ञको विधि र गोवर्द्धनको अभियान उन्नत गरे । त्यसैले पुराणहरूले उनलाई क्षत्रीय भए पनि अवतार पुरुष बनाए । त्यसो त उनीभन्दा पहिले रामचन्द्रले ब्राह्मणहरूको वर्चश्वलाई दमन गरी विभिन्न सामाजिक मर्यादाहरूका आदर्शलाई धार्मिक संस्थापन गरेर उनी पहिलो क्षेत्रीय अवतार पुरुष बनाइएका हुन् ।
दशैंमा पशुबली दिन ठिक कि बेठिक भन्ने सम्बन्धमा धेरै पहिलेदेखि बिबाद चल्दै आइरहेको छ । पछि पनि चल्ला । तर कुरा के भने यज्ञमा हिँसा गर्ने र नगर्ने पनि दुवै हिन्दु शास्त्रहरूमै उन्नत मान्यता हो, तर उनमा जे भए पनि गुप्ता राजाको झैँ सहिष्णुतापूर्ण समावेशिता हामीमा हुनु आवश्यक छ ।
पुनर्जागृत हिन्दु समावेशी थियो, सबैको पहिचानलाई विरोधाभाषपूर्ण देखिंदा देखिंदै पनि उत्तिकै मान्यतासाथ संस्थागत गरिएको छ । आजको आवश्यकता त्यही हो, ५००० हज्जार वर्ष पहिले कृष्ण र २६०० वर्ष पहिले बुद्ध, २३०० वर्ष पहिले अशोक अनि १६०० वर्ष पहिले गुप्ता राजाहरूले सहिष्णुतापूर्ण उदारता देखाए, जसको कारण हिन्दु संस्कृतिभित्र जति नै धार्मिक सम्प्रदाय भए पनि त्रिदेव, पंचदेव, गणेश, शक्ति, प्रकृति पूजा, सात्विक यज्ञ, दशावतार, शंख घण्टा, वेद, उपनीषद, षडदर्शन, नास्तिक मानिएका चार्वाक दर्शन, बौद्ध दर्शन, र जैन दर्शन पनि उत्तिकै पूजित र मान्य छन्। यिनलाई मान्ने र मान्ने पनि आज हाम्रा देशमा उन्नत भएका संस्कृतिहरू छन्, इतर संस्कृतिलाई पहिचान दिने तत्वहरूको सम्मान गर्ने समावेशिताको जुन रगत हामीमा प्रवाहित छ। त्यसलाई निरन्तरता दिउँ । पुरातन कट्टरतामा कुनै पनि धर्म निरन्तरित हुन्न, कुनै पनि धर्मनाशक त कट्टर पुरातनबादी हुन्छन् । कृष्णले नै भनेका छन्ः
यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत
अभ्युत्थानम अधर्मस्य तदात्मानम सृजाम्यहम
परित्रनाय साधुनाम विनाशाय च दुश्क्रिताम
धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे
समाज प्रगति पथमा निरन्तर अघि बढ्दो छ । पुरातनबादीहरू हिजो पनि कुल्चिए अब पनि कुल्चिइन्छन् । उहिले कट्टर पुरोहित ब्राह्मणहरू कुल्चिए । हाम्रै सानो भूगोलमा जनताबाट राणा कुल्चिए । यो जनअवतारले घरेलु हतियार उठाएर विष्णुका अवतार मानिएको राजालाई नै कुल्चिदियो । यो युगमा धर्म पालकको अवतरन त जनताबाट हुने रहेछ, सायद यस्तै थियो पुराना युगमा पनि । बुझ्न पर्यो जनशक्तिनै बलियो रहेछ । जनशक्ति नै मुक्तिदाता रहेछ । दशम अवतार कल्की घोंडामा तरवार लिएर आउँछ भनिएको छ, यो युगको कल्पना गर्न नसकेका १६०० वर्ष अघिका लेखकले आफ्नै युगको हातहतियार र साधनको कल्पना गरेर पुराण लेखे तर संयोग नै भनौं त्यस्तो हुँदो छ । सामान्य जनअवतार आजको साधन बन्दूक र ट्यांकर लिएर होइन, जनअवाज र जनमतसाथ पैदलै अवतरित भएको छ, कुनै पनि ज्यादती कुल्चन उ तयार छ ।
















प्रतिक्रिया