विराटनगर, १९ असोज । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले असोज २२ गतेदेखि अवरुद्ध संसद् सुचारु हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्यलाई प्राथमिकता दिई विभिन्न दललगायत एकीकृत नेकपा (माओवादी)का विभिन्न मागलाई असोज २१ गतेभित्र सम्बोधन गर्ने जानकारी दिनुभयो ।
सञ्चारमन्त्री डा रिजालले संविधान निर्माणका बाँकी कार्य पूरा गर्न राजनीतिक समितिको संयोजक पालैपालो बनाउनुपर्ने बताउनुभयो ।
सबै दलहरूलाई साथ लिई संविधान निर्माणमा सहमति कायम गर्न पनि संयोजक पद पालैपालो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री डा रिजालले एक प्रश्नको जवाफमा नेपाली काँग्रेस सङ्घीयताको सम्बन्धमा सात प्रदेश बनाउनुपर्नेमा अहिलेसम्म अडिग रहेको छ भन्नुभयो । उहाँले आगामी माघ ८ गते नेपाली जनताले लोकतान्त्रिक संविधान पाउने दाबीसमेत गर्नुभयो ।
















प्रतिक्रिया