१ कार्तिक २०८३, शनिबार

नमुना बन्दै पर्यटकीयस्थल घोडेपानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghorepani

म्याग्दी (बेनी), १८ असोज । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा दैनिक सयौँ पर्यटक आवतजावत गर्ने गर्दछन् । पर्यटकको चापसँगै पर्यटन व्यवसायी गाउँलाई चिटिक्क बनाउने अभियानमा समेत लागेका छन् ।

अन्नपूर्ण पदमार्गअन्तर्गत महत्वपूर्ण गन्तव्यका रुपमा विकास भएको म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्र घोडेपानीका पर्यटन व्यवसायीले घुम्न आउने पर्यटकलाई आर्कषण गर्न गाउँमा जथाभावी फालिने फोहर व्यवस्थापन गर्न नियमित फोहर सङ्कलन गर्ने गरेका छन् ।

कुल ४३ वटा व्यवस्थित होटल भएको घोडेपानी क्षेत्रमा दैनिकजसो भित्रिने चार÷पाँचसय पर्यटकलाई लक्ष्यित गरेर विस्तार भएको व्यवस्थापनसँगै दैनिक जम्मा हुने फोहरलाई पनि थप व्यवस्थापन गरिएको छ ।

चार वर्ष अगाडि घोडेपानी होटल तथा समाजसुधार समितिले करिब रु पाँच लाख खर्चेर निर्माण गरेको फोहर जम्मा गर्ने ढ्वाङ्गका कारण यस क्षेत्रको सुन्दरतामा निखार आएको हो ।

समितिले निर्माण गरेको दस टन क्षमताको फोहर राख्ने घरमा प्लास्टिकजन्य, फलामजन्य, बियरका सिसी तथा सड्ने र नसड्ने फोहर गरी फोहरका प्रकार छुट्याएर राख्ने गरिएको छ । प्रकारअनुसार छुट्याएर जम्मा गरिएका फोहरमध्ये पुनःप्रयोगमा आउने र सड्न सक्ने फोहरबाट स्थानीय जनताले फाइदासमेत लिने गरेका छन् ।

त्यस्तै पुनःप्रयोगमा आउन नसक्ने फोहरलाई प्रत्येक महिना स्थानीय व्यवसायीकै सक्रियतामा घोडेपानीको बस्ती र पर्यटकलाई समस्या नपर्ने गरी नजिकैको जङ्गलमा लगेर नष्ट गर्ने गरेका छन् ।

फोहरको व्यवस्थापनका साथै घोडेपानीको सुन्दरताबाट लोभिएर पनि एकपटक आएका विदेशी पर्यटक पटकपटक घोडेपानीलाई सम्झिएर आउने गरेको घोडेपानी होटल व्यवसायी सङ्घका अध्यक्ष डमबहादुर पुनले  बताउनुभयो ।

भदौको पहिलो सातादेखि मङ्सिरको अन्त्यसम्म यहाँका होटल भरिभराउ हुने गरेका छन् । व्यवसायीले सुरु गरेको यो अभियानलाई घुम्न आउने पर्यटकले समेत सहयोग गर्ने गरेका छन् ।