चितवन । चितवनमा पेट्रेलियम पदार्थको अभाव बढेसँगै किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ ।
किराना र पुस्तक पसलेसमेत पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएकोले जिल्लामा कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीवलाल चुँदालीले जानकारी दिए ।
उनीहरूले चर्काे मूल्यमा अनुमतिबिनै बोतलमा राखेर पेट्रोल बिक्री गरेको पाइएकाले कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ ।
अनुगमनमा माडीको अयोध्यापुरीमा रहेको ब्रदर्स पुस्तक पसलले पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । यस्तै भरतपुरको कौशल किराना पसल र भरतपुरकै मदिरा पसलले पनि पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ ।
पेट्रोलमा कालोबजारी गरेर बिक्री गर्दै आएको पाइएकाले चितवनका विभिन्न क्षेत्रका छ जनालाई प्रहरीले पक्राउपछि मुद्दा दर्ता गरेको छ । उनीहरूले बिक्रीका लागि राखेको ३ सय ४० लिटर पेट्रोलसमेत प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक चुँदालीको भनाइ छ ।
मुद्दा चलान भएकामा माडी अयोध्यापुरीका धनुहर पहारी, खैरहनीका खेमराज अर्याल, भरतपुर– १३ सालचोकका नहिम मियाँ र विपना कुँवर, भरतपुरकै सुवास ज्ञवाली र राजेश श्रेष्ठ रहेका छन् ।
नहिम मियाको किराना पसलबाट मात्रै १५० लिटर पेट्रोल बरामद गरिएको छ । मदिरा पसल सञ्चालन गर्ने ज्ञवालीकहाँबाट ६५ लिटर बरामद गरिएको छ ।
पानीको बोतलमा पेट्रोल हालेर लिटरको रु २०० सम्ममा बिक्री हुने गरेको भन्दै जिल्लामा चर्काे आलोचना भइरहेको छ ।













प्रतिक्रिया