काठमाडौँ, १७ असोज । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान १०:१५ बजेको शुभसाइतमा ८१ वर्षीया दिदी आभादेवी शर्माको हातबाट विजयादशमीको टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिनुभयो ।
प्रधानमन्त्री कोइरालाले भाइबुहारी, भाञ्जाभाञ्जी, भाञ्जीबुहारी, भतिजाभतिजी, भतिजाबुहारी र नातिनातिनालगायत परिवारका सदस्यहरूलाई पनि टीका लगाई आशीर्वाद दिनुभयो । प्रधानमन्त्री कोइरालाले कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पनि टीका लगाई आशीर्वाद दिनुभयो ।
टीका ग्रहण कार्र्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री कोइरालाले विजयादशमीको अवसरमा नेपालको मेचीदेखि महाकालीका तराई, पहाड र हिमालमा बस्नेसहित विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले मुलुक अब लोकतान्त्रिक व्यवस्थाको माध्यमबाट शान्ति तथा स्थायित्व कायम गर्दै सुख र समृद्धि हासिल गर्ने मार्गमा लागेको बताउनुभयो ।
नेपालले हाल भारतसँग गरेको विद्युत् व्यापार सम्झौता र ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास गर्न लगानी बोर्डले भारतीय कम्पनी जिएमआरसँग गरेको परियोजना विकास सम्झौताले नेपालको प्राकृतिक स्रोतको सदुपयोग गर्ने ढोका खुलेको उहाँले बताउनुभयो ।
विदेशमा रहेका ३० देखि ४० लाख नेपाली युवाशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी मुलुकको विकासमा संलग्न गराउन आवश्यक भएको पनि प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।
















प्रतिक्रिया