१४ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिको भारतमा अपमान भएकै हो ? के जवाफ दिए मोदीले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमान वा मेहमान नभएको भनाइ राखेका थिए ।

‘हामी बराबर छौँ, कोही ठूलो–सानो छैनौँ,’ मोदीको भनाइ उद्धृत गर्दै महतले भने । यसअघि एउटा व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश राज्यमन्त्री भिके सिंहले पनि नेपाल र भारत समान रहेको, कुनै ठूलो–सानो नरहेको स्पष्ट पारेका थिए । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘स्थानीय निर्वाचनमा यसो गर्नुस्, उसो गर्नुस् भन्ने कुरा कहीँकतैबाट उल्लेख भएन,’ सबै भेटवार्तामा सहभागी राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले भने, ‘प्रधानमन्त्री मोदीले छिमेकीको विकासमा भारतको प्राथमिकता रहेको र नेपाल सबैभन्दा नजिकको छिमेकी रहेकाले नेपालप्रति सद्भाव रहेको बताउनुभयो । हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध नेपालसँग छ, नेपालको पक्षमा हाम्रो सदैव सद्भाव छ भन्ने मोदीजीको भनाइ थियो ।’

राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनसहित आगामी दश महिनामा तीनवटा निर्वाचन गराउने र संविधान कार्यान्वयन गर्ने नेपालको प्राथमिकता सुनाएकी थिइन् ।

‘नेपालको अहिलेको प्रमुख सामाजिक मुद्दा समावेशीकरण हो, संविधानले समावेशीकरणको व्यवस्था गरको छ, महिलाहरू ४० प्रतिशत निर्वाचित भएर आउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि निर्वाचन हुन गइरहेको छ,’ राष्ट्रपति भण्डारीले मोदीलाई भनिन्, ‘संविधान कार्यान्वयनपछि मात्रै समावेशी व्यवस्थाको अनुभूति जनतामा हुन्छ, यसका लागि हुने चुनावमा भारतको शुभेच्छा र सद्भाव नेपालले अपेक्षा गरेको छ ।’

भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री महतले मोदीलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘भारत नेपालको हित चाहन्छ, नेपालको हितका लागि सहयोग गर्न चाहन्छ ।’

भेटमा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको मन्त्री महतले जानकारी दिए । यसअघि सबै पक्षलाई सहभागी गराएर संविधान कार्यान्वयनमा जानुपर्ने धारणा राख्दै आएका भारतीय शीर्ष नेताले यसपटक केही उल्लेख गरेनन् । प्याकुरेलका अनुसार मोदीको यसबारे यति मात्रै भनाइ थियो, ‘नेपालको लोकतान्त्रिक विकासक्रममा हाम्रो सदैव सद्भाव छ ।’