१ कार्तिक २०८३, शनिबार

दशैंको शुभकामना सन्देश : कस्ले के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ ।

उहाँहरूले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले शुभकामना सन्देश दिँदै वर्षभरि आइरहने जाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै यिनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध सूत्रको काम गरेको जनाउनुभएको छ ।

उहाँले यस क्षणमा देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति सहभाव व्यक्त गर्दै उनीहरूको दैनिक गुजारा सहज तुल्याउने र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सबैसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिले जनताले अपार उत्साह प्रदर्शन गरी चयन गरेको दोस्रो संविधानसभाले निश्चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्साएको क्रियाशीलतालाई कायम राखी आफ्ना कबुल पूरा गर्न सबै दलमा आग्रह गर्नुभएको छ । “दलहरू यस पटक चुक्ने छैनन् र तोकिएको मितिमै संविधान निर्माण गर्न सक्षम हुनेछन् भन्ने सबैको आशा छ, मलाई विश्वास छ, यस पटक मुलुक र देशवासीलाई निरास पारिने छैन ।” राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति झाको सन्देशमा पनि राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै लोकतान्त्रिक संविधान जारी हुन सक्ने भएकाले सो कार्यमा सबै दल र नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ यस बाटामा अघि बढ्न दुर्गा भवानीले प्रेरणा प्रदान गरून् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासका लागि नेपाली जनताले झन्डै ६० वर्षसम्म गरेको आन्दोलन र सङ्घर्षका उपलब्धिलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हरेक नेपालीले सहयोग गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा उहाँले एक्काइसौंँ शताब्दीमा नेपाली नागरिकलाई सुखसुविधा दिन धेरै काम गर्नुपर्ने खाँचो रहेको जनाउँदै स्वदेशमा नै लगानीका अवसर सिर्जना गरी रोजगारी सिर्जना गर्न तथा समस्त नेपाली नागरिकलाई योग्य, सक्षम, सुखी, समृद्ध बनाउने कार्यका लागि निर्धारित समयमा नै लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले राजनीतिक दलबीचका आपसी, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नेपाललाई सबल राष्ट्रमा रूपान्तरण गर्न सम्भव छ भन्दै संविधानसभामा प्रतिनिधित्व हुन नसकेका राजनीतिक दलको विचारलाई पनि आगामी संविधानमा समेट्न अधिक लचकतासाथ अधिकतम प्रयास भइरहेको बताउनुभएको छ ।

ओली, नेपाल र दाहालको सन्देश

शुभकामना सन्देशकै क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई दिगो शान्ति र समृद्धिमा लानका लागि आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु अनिवार्य भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपालले अधिकार प्राप्तिको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न समयमा संविधान जारी गारी आर्थिक विकासको बाटो खोल्नुपर्नेमा जोड दिनुभएको छ ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले असत्य वा खराबीमाथि विजय प्राप्त गरी देशमा संविधान निर्माण र समृद्धि स्थापना गर्न दसैँबाट महत्वपूर्ण प्रेरणा मिल्नेछ भन्ने कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ ‘‘यस वर्षको यो अवसरलाई पहिचानसहितको सङ्घीयतामा आधारित संविधान निर्माणका निम्ति आपसी छलफलको अवसर बन्नेछ भन्ने विश्वास लिएको छु, आगामी संविधान अग्रगामी र परिवर्तनसहितको बन्न सहयोगी बन्नेछ भन्ने अपेक्षा गर्दछु ।’’ उहाँले नेपाल र नेपालीको भाग्य र भविष्य निर्धारण गर्ने संविधान निर्माण गर्नका लागि आआफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

रेग्मीको आग्रह बृहत्तर हिततिर

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नवद्ुर्गा भवानीको पूजा आराधना गरी एकआपसमा शुभकामना र खुसी बाँड्दै हर्ष, उल्लास र उमङ्का साथ दसैं मनाइरहँदा आफ्नो दायित्व र कर्तव्यलाई सम्झँदै देशको बृहत्तर हितमा केन्द्रित हुन पनि प्रण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

पूर्व राजाको पनि

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तित समयलाई ख्याल गरेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनीतिक समन्वयको माध्यमलाई समुचित गन्तव्य खोज्न आग्रह गर्नुभएको छ ।