काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालाले अबको दशभित्र मुलुकको कायापलट हुने विश्वास व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा भाग लिएर बिहीबार अपराह्न स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कोइरालाले प्रमुख राजनीतिक दलको सहमतिमा नै आगामी माघ ८ गतेभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुने बताउनुभयो । ‘‘संविधानसभामा पनि महत्वपूर्ण छलफल भएको छ, समितिमा पनि छलफल जारी छ, दलबीच सहमति निर्माणको प्रयास जारी रहेको छ, त्यसैले सहमतिमा नै संविधान जारी हुन्छ, मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्छ, आगामी दश वर्षमा मुलुकको कायापलट हुन्छ ।’’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
प्रधानमन्त्री कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्रीद्वय, मन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र सरकारका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
उहाँ संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्रीले महासभालाई यही असोज १० गते सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले राष्ट्र सङ्घको बडापत्र, आतङ्कवादविरुद्धको लडाइँ र विश्व शान्ति स्थापनालगायत विषयमा नेपालको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सम्बोधनका क्रममा अति न्यून हरितगृह ग्यासको नकारात्मक असर बढी व्यहोर्न बाध् नेपालजस्ता मुलुकको समस्यालाई सम्बोधन गर्न आर्थिक सहायताको विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपालले सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको सन्दर्भमा नेपाल जस्तै अन्य अतिकम विकसित राष्ट्रको लक्ष्य प्राप्तिलाई सहयोग गर्न तथा उनीहरूको साझा समस्यालाई सम्बोधन गर्न विगतमा सहमति भएका कार्ययोजनाको अविलम्ब, पूर्ण तथा प्रभावकारी कार्यान्वयनका आह्वान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धमा राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्नुभएको सम्मेलनलाई सम्बोधन गर्नुभ्एको थियो । सम्बोधनका क्रममा उहाँले नेपाल जस्तो हिमाली मुलुकमा जलवायु परिवर्तनले ल्याएका असर र तिनको न्यून गर्नका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम र सोका लागि अन्तर्राष्ट्रिय समुदायबाट अपेक्षा गरिएका आर्थिक एवम् प्राविधि सहयोगका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले अध्यक्षता गरेको सुरक्षा परिषद् शिखर सम्मेलनको उद्घाटन सत्रमा भाग लिँदै प्रधानमन्त्री कोइरालाले विश्वका विभिन्न स्थानमा देखिएको आतङ्कवादले उब्जाएका खतराप्रति ध्यानाकर्षण गरी विश्व समुदायले चाल्ने क्रियाकलापप्रति नेपालको सर्मथन रहेको उल्लेख गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव र राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री, भारत, बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिसँगको भेटमा नेपालको संविधान निर्माण तथा शान्तिप्रक्रियाको अवस्थाका साथै द्विपक्षीय सम्बन्धका विषयमा महत्वपूर्ण कुराकानी भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री कोइरालाले न्युयोर्क जाने क्रममा अबुधावीमा पश्चिम एसिया तथा मध्यपूर्वमा कार्यरत नेपाली नियोग प्रमुखसँग नेपाली समुदाय र श्रमिकले भोग्नुपरेको र राहदानी वितरणमा देखापरेका समस्या तथा नियोगको जनशक्ति र स्रोतको अवस्थाबारे विशेष अन्र्तक्रिया गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले श्रमिकको समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न नियोग प्रमुखलाई निर्देशन दिनुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री कोइरालाले न्युयोर्कमा नेपाली समुदायसँग पनि अन्तक्र्रिया गर्नुभएको थियो । न्युयोर्कबाट फर्कने क्रममा बेल्जियमस्थित नेपाली दूतावासमा युरोप र इजरायलस्थित नेपाली दुतावासका नियोग प्रमुखसँग पनि विशेष अन्तरक्र्रिया गर्दै उहाँले मुलुकको शान्ति प्रक्रिया, संविधान लेखन र आर्थिक सामाजिक विकासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग प्राप्त गर्न निरन्तर प्रयास गर्न प्रधानमन्त्री कोइरालाले निर्देशन दिनुभएको थियो ।
युरोप बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले युरोपेली सङ्घ परिषद् र आयोगका अध्यक्ष र लग्जम्बर्गका प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले मेमोरियल स्लोन क्यान्सर अस्पतालमा स्वास्थ्य अनुगमन परीक्षणसमेत गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाका साथ नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका प्रमुख निजी सचिव वसन्तकुमार गौतम, कामु परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीको अवैतनिक जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, मन्त्रालयका सहसचिव दीपक धिताल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रीका जनसम्पर्क सल्लाहकार अश्विनकुमार पुडासैनीलगायत रहनुभएको थियो ।
















प्रतिक्रिया