१ कार्तिक २०८३, आइतबार

पोखरामा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्तर्राष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्तर्राष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ निर्माण हुन लागेको हो ।

रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण शुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । नेपाली २५ लाख रुपैयाँ खर्चेर स्केटिङ ट्रेनिङ सेन्टर निर्माण गरिने उनले बताए ।

यो निर्माणको सबै खर्च अन्तर्राष्ट्रिय स्केटिङ संघले बेहोर्ने पौडेलले बताए । स्केटिङ ट्रेनिङ सेन्टर निर्माणका लागि अन्तर्राष्ट्रिय स्केटिङ संघका डाईरेक्टर वेड ट्रिवियनसहितको ३५ जनाको टोली खटिएको छ ।

निर्माणमा अमेरीका, बेलायत, जापान, डेनमार्कलगायत १२ देशका अन्तर्राष्ट्रिय स्केटिङ संघका प्रतिनिधी खटिएका हुन् । निर्माण सामग्री खरिद गरेपनि म्यानपावर भने उनीहरु आफैले गरिरहेका छन् ।

निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । हाल उनीहरु विहान ७ बजेदेखी अपराह्न ५ बजेसम्म निर्माण कार्यमा खटिरहेका छन् ।

एक हप्ता अघिदेखी शुरु भएको यो निर्माण कार्य बैशाख १५ गतेसम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । आ–आफ्नो सीप अनुसार माटो खन्ने, सम्याउनेदेखी रड, जाली लगाउनेसम्म उनीहरु आफैले गर्नेगरेका छन् ।

विहानको खाना, दिउँसो खाजा त्यहीं खाएर काममा जुट्ने उनीहरु राती बास बस्न भने लेकसाईड पुग्नेगरेका छन् । अन्तर्राष्ट्रिय स्केटिङ संघले ३ हप्ता भित्रमा ट्रेनिङ सेन्टर बनाएर खेलकुद विकास समितिलाई हस्तान्तरण गर्ने अध्यक्ष खगराज पौडेलले बताए ।

ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएपछि उनीहरुले ३ सय भन्दा बढी स्केट बोर्ड पनि प्रदान गर्नेछ । उनका अनुसार स्केटिङ सिकाउनका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघले केही अवधीका लागि प्रशिक्षक उपलब्ध गराएर प्रशिक्षण पनि गराउनेछन् ।

स्केटिङ पश्चिमा देशहरुमा लोकप्रिय खेलहरु मध्येमा पर्छ । ओलम्पिक खेलकुदमा भने आगामी सन् २०२० मा हुने प्रतियोगितामा मात्रै यो खेल समावेश गरिदैछ । नेपालमा भने यो खेल खासै लोकप्रिय छैन ।

सार्बजनिक ठाउँमा पहिलोपटक निर्माण गरिएपनि नीजि क्षेत्रले भने पहिल्यैदेखी र्‍याम बनाएर खेल्ने/खेलाउने गरेका छन् । पोखराको लेकसाईडमा स्थानिय रामचन्द्र कोइरालाले स्केटिङ र्‍याम बनाएर खेल्ने/खेलाउने गरेका छन् ।

उनै कोइरालामार्फत क्षेत्रीय खेलकुद विकास समितिले सम्पर्क गरेर सहयोग भित्राउन सफल भएको हो । पोखरा घुम्न आएका पर्यटकहरु स्केटिङ खेल्न कोइरालाकोमा जाने क्रममा कुराकानी हुँदा उनीहरुले स्केटिङ प्रवद्र्धनका लागि सहयोग गर्ने ईच्छा व्यक्त गरेपछि कोइरालाले क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पोडेललाई सम्पर्क गराईदिएका थिए ।

सो क्रममा उनीहरुले स्केटिङ र्‍याम बनाईदिने सम्झौता अनुसार काम शुरु गरेको पौडेलले बताए । स्केटिङ र्‍याम निर्माणसँगै क्षेत्रीय खेलकुद विकास समितिले आगामी प्रतियोगितामा स्केटिङ खेल समावेश गर्ने बताएको छ । समितिका अध्यक्ष पौडेलले क्षेत्रीय प्रतियोगिताको रुपमा खेल शुरु गर्ने र राष्ट्रिय खेलमा पनि समावेश गर्नका लागि पहल गर्ने उनले बताए ।