लन्डन, ३ वैशाख । म्यानचेस्टर सिटीले साउथहाम्पटनलाई उसैको मैदानमा ३–० गोलले पराजित गर्दै प्रिमियर लिगको अन्तिम ४ मा बस्ने आफ्नो अभियानलाई बलियो बनाएको छ ।
शनिबार राति कप्तान भिन्सेन्ट कोम्पानी, लेरोय साने र सर्जियो अगुईरोको गोलमा सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा टुँगिएको अवस्थामा सिटीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
दुई वर्षअघि चेल्सीलाई गोल हानेपछि गोलविहिन बनेका कोम्पानीले ५५ मिनेटमा डेभिड सिल्भाको कर्नरमा उत्कृष्ट हेडिङ गोल गरेका थिए ।
७७ मिनेटमा केभिन डि ब्रुयनको पासमा सानेले अर्को गोल थपे । अगुइरोले ८० मिनेटमा गोल गरे ।
पेपे ग्वार्डिओलाको टिमले पाँचौ स्थानमा रहेको इभर्टनलाई ७ अंकले उछिनेको छ ।
सिटीको अन्तिम ४ मा लिग टुँग्याउने अभियान धेरै अर्थमा सार्थक बन्दै गइरहेको छ । सिटीको हाल ३२ खेलमा ६४ अंक छ । – एजेन्सी















प्रतिक्रिया