१ कार्तिक २०८३, शनिबार

सात दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beni_jomsom-road

बेनी (म्याग्दी), १६ असोज । पहिरोका करण सात दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक बुधबार रातिदेखि सुचारु भएको छ ।

एकसाता अगाडि सडकखण्डको रुप्से, दाना, काभ्रेभिरलगायत छ स्थानमा पहिरो जाँदा मुस्ताङ जाने र फर्कने यात्रुलाई सास्ती भएको थियो । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समितिको पहलमा बुधबार रातिदेखि सडक सुचारु भएको म्याग्दी समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।

केसीका अनुसार तत्काल सडक मर्मतका लागि म्याग्दी समितिले रु तीन लाख र मुस्ताङका स्याउ व्यापारीले रु पाँच लाख लगानी गरेका थिए । सडक विभागले उक्त रकम पछि व्यहोर्ने भएको छ ।

सडक अवरुद्ध भएपछि सर्वसाधारण नारच्याङ गाविसको पहिरोथाप्ला हुँदै चार घण्टाको पैदलयात्रा गरी मुस्ताङ जान बाध्य थिए । सडक सुचारु भएपछि मुस्ताङबाट स्याउ बोकेका ट्रक म्याग्दीतर्फ आएका छन् ।

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादित स्याउ बीचबाटोमै अलपत्र परेपछि बजारमा स्याउको मूल्य आकासिएको थियो ।

यसैबीच मुक्तिनाथ दर्शनका लागि आएका नागेन्द्र नाम गरेका एक भारतीय यात्रीको पैदलयात्राको क्रममा लडेर बुधबार मृत्यु भएको छ । उनको शव प्रहरी र स्थानीयले आफन्तलाई जिम्मा लगाएका छन् । रासस