काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चाको चाहना नै बुझ्न नसकिएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता पौडेलले भने, ‘संविधान संशोधनको विधेयक मधेसी मोर्चासँगको सहमतिमा फिर्ता लिइएको हो । मोर्चा कै सहमतिमा अर्को संशोधन विधेयक ल्याएका हौँ ।’ उनले भने, ‘मधेसी मोर्चाका नेताहरू के चाहन्छन् बुझ्नै सकिएन ।’
कांग्रेस नेता पौडेलले मोर्चाका नेताहरूले बारम्बार कुरा फेर्ने गरेको आरोप लगाए । ‘मोर्चाका नेताहरूबाट पटक–पटक नयाँ माग आउँछन्’, उनले भने, ‘मधेसी जनताले चाहेका कुरा मोर्चाका नेताले भने जस्तो होइन । मधेसी जनता समावेशी, समानुपातिक प्रतिनिधित्व र समुन्नति चाहन्छन् ।’ मधेसी जनतालाई अधिकार दिने पक्षमा मोर्चाका नेताहरू नरहेको नेता पौडेलले आरोप लगाए ।
संविधानमा सबैको अधिकार रहेको बताएका पौडेलले भने, ‘मोर्चाका नेताहरूले संविधानमा केही पनि छैन मात्रै भनेर मधेसी जनतालाई भ्रममा पारेका छन् ।’
उनले अहिले संसदमा दर्ता भएको नयाँ प्रस्तावका पक्षमा मोर्चाका नेताहरू नआए त्यसलाई पनि फिर्ता गर्ने चेतावनी दिए । ‘यो प्रस्ताव मोर्चाका नेताहरूको समर्थनमा ल्याइएको हो’, उनले भने, ‘उनीहरूले नै मान्दैनन् भने सरकारले यो संशोधन बोकेर सधैँ हिँड्न सक्दैन ।’
‘सुतेको व्यक्ति उठाउन सकिन्छ । सुतेको भान गर्नेलाई बाजा बजाएर पनि उठाउन सकिँदैन’, कांग्रेस नेता पौडेलको भनाइ थियो । मोर्चाका नेताहरू सहमति खोज्नेभन्दा पनि बाधा अड्चन मात्रै निकाल्ने पक्षमा रहेको उनले बताए ।











प्रतिक्रिया