७ मंसिर २०८३, सोमबार

त्रिपुरा सुन्दरी नगरपालिकामा कांग्रेस र एमालेबाट उम्मेदवार तय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, १ वैशाख । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार प्रस्ताव गरिएको छ ।

गत बुधबार त्रिपुरा सुन्दरी नगरपालिकास्थित वडा नं ५ खदाङमा पार्टी सभापति अङ्गतकुमार बुढाको अध्यक्षतामा भएको जिल्ला कार्यसमिति तथा स्थानीय नेताहरुसँगको छलफलबाट एक्लो उम्मेदवारका रुपमा दिलबहादुर विष्टको नाम प्रस्ताव गरिएको हो ।

यस नगरपालिकाको नगर प्रमुखका रुपमा छलफल नहुँदै पनि विष्टको नाम उम्मेदवारका रुपमा चर्चामा ल्याइएको थियो ।

उक्त छलफलमा नगरपालिकाको उपप्रमुखको उम्मेदवारबारे भने छलफल नभएको पार्टी सभापति बुढाले जानकारी दिनुभयो ।

आउँदो वैशाख पहिलो साताभित्रै कांग्रेसले जिल्लाका सम्पूर्ण स्थानीय निकायको प्रमुख तथा उपप्रमुखको नाम प्रस्ताव गरिसक्ने बुढाले बताउनुभयो ।

उम्मेदवार विष्ट पूर्व पार्टी जिल्ला सभापति तथा पूर्व महासमिति सदस्यसमेत हुनुहुन्छ ।

एमालेबाट नाम सिफारिस

एमाले नगर कमिटी, त्रिपुराकोटले त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नगर प्रमुखमा ओमबहादुर बुढा र विमाकर पहाडीको नाम सिफारिस गरी जिल्ला कमिटी पठाइएको छ ।

कमिटीका सहसंयोजक विश्वचन्द्र डसालले छलफलमा सहमति कायम गरेर दुईजनाको नाम सिफारिस गरेको जानकारी दिनुभयो ।

महिलातर्फ उपप्रमुखको एक्लो उम्मेदवारका रुपमा चन्द्राकुमारी बुढाको नाम सिफारिस गरिएको छ ।

नगर प्रमुखको सिफारिसमा परेका बुढाले २०६४ को संसदीय चुनावमा चुनाव लड्नुभएको थियो र उहाँ पूर्व जिविस सभापतिसमेत हुनुहुन्छ ।
नगर प्रमुखमै सिफारिस हुनुभएका अर्का उम्मेदवार पहाडी भने युवा नेताका रुपमा परिचित हुनुहुन्छ । रासस